सार्क मञ्चमा भारत र पाकिस्तानलाई ल्याउने प्रचण्डको महत्वाकाँक्षा
प्रकाशित २०७५ भदौ २२ शुक्रबार
493
Shares
नयाँ दिल्ली। तीन दिने भारत भ्रमणमा रहेका नेकपाका दुई मध्येका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको पहिलो दिन नयाँ दिल्लीमा पत्रकारहरुसँग कुराकानी गर्दै दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कको सम्मेलन गराउने विषयमा अभिव्यक्ति दिए। भारत र पाकिस्तानबीचको आपसी मनमुटावको शिकार बनेको सार्क सम्मेलन गत वर्ष पाकिस्तानमा गर्ने तयारी भएको थियो।
सो समयमा सबै तयारी सम्पन्न हुँदासम्मपनि भारतले सुरक्षाको दृष्टि देखाउँदै पाकिस्तानमा सार्क सम्मेलन हुननसक्ने बताएपछि अन्तिम समयमा अन्य देशबाट पनि प्रतिनिधिहरु पाकिस्तान गएनन्। तर, त्यतिबेला पनि नेपाल पाकिस्तानमा नै सार्क सम्मेलन गराउन प्रयासरत थियो।
त्यसपछि अहिलेसम्म केही पनि लक्षित प्रगति हाँसिल नभईरहेको सन्दर्भमा नेपालमा सरकारको प्रतिनिधित्व गरिरहेको नेकपाका प्रभावशाली अध्यक्ष दाहालले सार्कको विषयलाईै भारतमा उठाउनुलाई महत्वपूर्ण मानिएको छ। पत्रकारहरुसँगको प्रतिक्रियाको क्रममा दाहालले अब छिट्टै सार्क शिखर सम्मेलन हुने दाबी पनि गरे।
२०७३ सालको असोज महिनामा नै पाकिस्तान सरकारले भारतको उपस्थिती नहुने निश्चित देखेपछि १९ औ सार्क सम्मेलन स्थगित गरेको थियो। सोही समयदेखि अहिलेसम्म पनि सार्क सम्मेलन हुन सकेको छैन। यस्तो अवस्थामा यस अघि पनि नेपालले सम्मेलनको लागि धेरै प्रयासहरु गरेको थियो। तर, यो दुई मुलुकबीचको सम्बन्धका कारण नेपालको सबै प्रयासहरु असफल भए।
दिल्ली पुगेर आएको प्रचण्डको यो अभिव्यक्ति सकारात्मक त मान्न सकिन्छ। तर, यो अभिव्यक्ति पूरा गर्न कत्तिको सम्भव छ भन्ने कुरा पनि बहसको विषय भएको छ। भारत र पाकिस्तानले सार्क सम्मेलनलाई आफ्नो प्रतिष्ठाको विषय मानेर दृढ अडान राखिरहेका छन्।
पहिलो कुरा भारतमा २०१९ मा आम चुनाव हुँदैछ। अब भारतमा सरकारले गर्ने जस्तासुकै काम पनि आगामी चुनावी गतिविधीलाई सहयोग पुर्याउने गरि हुने आँकलन छ। यस्तो अवस्थामा कुनैपनि मुलुक त्यसमा पनि पाकिस्तानसँग त सानो बन्ने कुरा भारतले सम्भवत गर्दैन। फ्रान्ससँगको हतियार खरीद सम्झौता होस वा इरानसँग तेल खरीद सम्झौता होस, रसियासँगको सम्बन्ध होस वा अमेरिकाको घुर्कीले पनि भारतमा शहरीया बुद्धिजिवीमा चुनावी माहौल छपक्कै छाईसकेको स्पष्ट हुन्छ। माथि उल्लेखित सबै गतिविधिहरुमा भारतले चुनावलाई केन्द्रीत गरेर आफ्नो व्यवहार गरिरहेको देखिन्छ।
यस्तो अवस्थामा प्रचण्डको अभिव्यक्ति अनुसार भारतले पाकिस्तानमा सार्क सम्मेलन गर्नको लागि अहिले नै राजी हुने अवस्था अत्यन्त न्यून छ। सम्मेलन गर्ने पालो पाएको पाकिस्तानले आफ्नो मुलुकमा नभई अन्य मुलुकमा सार्क सम्मेलनको लागि स्वीकृति दिने सम्भावना पनि अत्यन्त कम छ। यस्तो अवस्थामा प्रचण्डले कुटनीतिक विषयमा दिएको अभिव्यक्ती साच्चीकै पररिपक्व बनाउने जिम्मा अब प्रचण्डकै जिम्मामा आएको छ।