प्रधानमन्त्री निवास बालुवाटारमा ‘ओली’ वंशको भेला, ५०० जति उपस्थित
प्रकाशित २०७५ भदौ २२ शुक्रबार
665
Shares
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार ‘ओली’ वंशको भेला हुँदैछ । नेपालका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको वंशको भेला भएकाले शनिबार बिहानका लागि भेला बालुवाटारमै डाकिएको हो ।
प्रधानमन्त्री ओलीको सहजताका लागि भेला बालुवाटारमै डाकिएको जनाइएको छ ।
भेला शनिबार बिहान १०ः३० बजेका लागि डाकिएको हो ।
ओली वंश अक्षय कोषले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली, प्रधानमन्त्रीका बुवा मोहनप्रसाद र श्रीमती राधिका शाक्यलाई अभिनन्दन गर्ने कार्यक्रम छ ।
त्यसैगरी राष्ट्रिय योजना आयोगका सदस्य कृष्ण ओली, सांसद कोमल ओली लगायत ४० जना जति सम्मानित हुने ओली वंश अक्षय कोषका घनश्याम ओलीले हाम्राकुरालाई जानकारी दिए ।
उनका अनुसार अन्य सम्मानित हुनेमा एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने, संगीततर्फ, वृद्धवृद्धा लगायत रहने छन् ।
ओलीका अनुसार नेपालभरकै चारदेखि पाँच सय ओलीहरु प्रधानमन्त्री निवासमा भेला हुनेछन् ।
बिहान १०ः३० बजे डाकिएको भेला झण्डै दुई घण्टा चल्नेछ । घनश्याम ओलीका अनुसार बिहान कार्यक्रम गरिए पनि दिवाभोज भन्दा पनि खाजाको व्यवस्था गरिएको जनाए ।
सामाजिक संजालमा विरोध
बालुवाटार प्रधानमन्त्रीको सरकारी निवास भएकाले त्यहाँको सेवासुविधा उनका लागि मात्रै हो । तर पटक पटक प्रधानमन्त्री ओलीले पार्टीका कार्यक्रमदेखि लिएर विभिन्न अन्य कार्यक्रमसमेत गर्दै आएसंगै उनी आलोचित हुँदै आएका छन् ।
सामाजिक संजालमा यसको चर्को विरोध भइरहेको छ । राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले निकै कसेर ट्वीटरमा व्यङ्ग्य लेखेका छन्, ‘ओली बन्धुहरूको भेला, भोज, मोज पनि बालुवाटार दरबारमा ? अब ओली बन्धुहरूको व्रतबन्ध, बिहा र वनभोजदेखि द्युत क्रीडा पनि त बालुवाटारमै हुने होला । ठीकै हो, भेला ओली सरका बन्धुहरूको, रैरकम राज्यकोषको । भन्छन् नि – लूटको धन,फुपूको श्राध्द।घरिघरि प्रम बन्न पाइन्न, मौकामा खाने हो !’
संग्रौलाको यो भनाई ट्वीटरमा राखेको १३ घण्टामा उक्त भनाई ११९ पटक रि–ट्वीट भएको छ । ५३४ लाइक्स आएको छ भने २६ रिप्लाई आएको छ ।