निर्मला हत्याकाण्डको छानविन गर्ने समितिले चार दिनभित्रै सरकारलाई प्रतिवेदन बुझाउने
प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाउने अवस्था नरहेको समितिको ठहर
ईश्वर दत्त बडू,
प्रकाशित २०७५ भदौ २३ शनिबार
315
Shares
कञ्चनपुर। कञ्चनपुरकी १३ बर्षिय निर्मला पन्त हत्याकाण्ड छानबिनका लागि सरकारले दुई साता अघि सह–सचिव हरि प्रसाद मैनालीको नेतृत्वमा गठन गरेको उच्चस्तरिय छानबिन समितिले चार दिनभित्रै सरकारलाई प्रतिवेदन बुझाउने भएको छ ।
उच्चस्तरिय छानबिन समितिले महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै चारदिन भित्रै गृहमन्त्री राम बहादुर थापालाई प्रतिवेदन बुझाउने बताएको हो ।
उच्च स्तरिय छानबिन समितिका संयोजक हरि प्रसाद मैनानीले घटनाको स्थलगत अध्ययन गरेर प्राप्त तथ्य प्रमाणको आधारमा तयार पारिएको प्रतिवेदन बुझाउने बताए । उनले तत्कालिन जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मुद्दा फाँटका प्रहरी निरीक्षक यकेन्द्र खडका, डिएपी ज्ञान बहादुर सेठी र एसपी दिल्लीराज विष्टलाई समेत सोधपुछ गरेर प्रतिवेदन लेखन गरिने बताए ।
‘जनता त्यसै आन्दोलनमा उत्रिएका होईनन्, ‘संयोजक मैनालीले भने, ‘कुरा गम्भिर छ, निष्कर्षमा पुग्छौँ ।’
निर्मला हत्याकाण्डमा प्रारम्भिक अनुसन्धान र छानबिनमा संलग्न व्यक्तिबाट त्रुटी भएको समितिको निष्कर्ष छ।
नैतिक जिम्मेवारी भएका कारणले प्रहरी उपरीक्षक दिल्लीराज विष्टलाई निलम्बन गरिएको समितिले जनाएको छ । मसिनो ढङगले अध्ययन गरेको बताउदै संयोजक मैनालीले घटनास्थलमा शुरुमै प्रहरी भन्दा जनताको बढी सहभागिताले समस्या भएको उनले बताए।
भदौँ ७ र ८ गते प्रहरीले गोली चलाईहाल्नुपर्ने अवस्था सिर्जना नभएको समितिको ठहर छ। कञ्चनपुर प्रहरी र प्रशासन नेतृत्व फेरिदा समन्वयमा समस्या भएको बताए।
साईकल पहिलेकै अवस्थामा नभेटिएकाले समेत अनुसन्धानमा समस्या भएको समितिको बुझाई छ । घटना निष्कर्षमा पुग्ने र वास्तविक हत्यारा पत्ता लाग्नेमा समिति विश्वस्त भएको छ । जनताको जीउ धनको सुरक्षा र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकारलाई सुझाव सहितको प्रतिवेदन तयार पारिने समितिले जनाएको छ ।