arrow

भङ्गाहामा डकैती, पाँच घाइते

logo
प्रकाशित २०७५ भदौ २३ शनिबार
mahottari.png

बर्दिवास । महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–६ जमुनियाँमा शुक्रबार राति डकैती भएको छ । 

सो बस्तीका अर्जुन भुजेलको घरमा शुक्रबार मध्यरातको समयमा २०–२२ जनाको समूहमा पुगेका हतियारधारी डाँकाले बन्दूक र खुकुरी चलाएर पाँच जनालाई घाइते बनाएर रु १० लाखभन्दा बढी मूल्यको धनमाल लुटेर लगेका पीडित परिवारले बताएका छन् । 

मध्यरातको समयमा पुगेका डाँकाले घरधनी अर्जुन भुजेल सुतेका कोठा धम्क्याएर खोल्न लगाएलगत्तै बन्दुक चलाएका थिए । 

डाँका कोठाभित्र पसेपछि उनीहरुलाई छलेर भाग्ने क्रममा अर्जुनको गाला र अनुहारमा डाँकाले चलाएको बन्दुकको छर्रा लागेको छ । 

कालो नकाव लगाएका डाँकाले अर्जुनकी पत्नी अञ्जुदेवी, छोराहरु दीपेन्द्र र अमित एवं साला सुमित बुढाथोकीलाई शरीरका विभिन्न अङ्गमा खुकुरी चलाएर घाइते बनाएका छन् ।

डाँकाले चार राउण्ड गोली चलाएर सानो बस्तीलाई आतङ्कित बनाएका डाँकाको खुकुरी प्रहारबाट घाइते भई शुभस्वस्तिक अस्पताल बर्दिवासमा उपचार गराइरहेका अमित भुजेलले बताए ।

घरका परिवारजन भाग्न थालेसँगै घरमा रहेका सुनचाँदीका गहना, धातुका भाँडा र नगदसहित रु १० लाख मूल्य बराबरको धनमाल लुटेर डाँका फरार भएका थिए । घटनाको जिल्ला प्रहरी कार्यालय महोत्तरीले पुष्टि गरेको छ । 

घाइते पाँचै जनाको अहिले बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको छ । 

घटनालगत्तै सो बस्ती र अन्य शङ्कास्पद ठाउँमा डाँकाको खोजीमा प्रहरी परिचालित गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ