काठमाडौं। नेपाली काङ्ग्रेस पार्टी केन्द्रीय कार्यालयमा आज नेपाल विद्यार्थी सङ्घको बसेको बैठकमा निर्वाचनको कार्यतालिका, विधान र नियमावलीबारे छलफल शुरु भएको छ। सङ्घीय संरचना अनुसार १२ औँ महाधिवेशन सम्पन्न गर्नका लागि निर्वाचनको कार्यतालिका, विधान र नियमावलीबारे बैठकमा छलफल भएको सङ्घका अध्यक्ष नैनसिंह महरले जानकारी दिए।
बैठकमा पार्टीले नेविसङ्घको महाधिवेशन गर्नका लागि बनाएको निर्देशन समितिका सदस्यद्वय नवीन्द्रराज जोशी र प्रदीप पौडेलले सङ्घको अधिवेशन सम्पन्न गर्न सबै एकताबद्ध भएर लाग्नुपर्ने बताउँदै सङ्घको १२ औँ महाधिवेशन कुनै पनि हालतमा सम्पन्न गर्नुपर्नेमा जोड दिए।
महाधिवेशनका लागि पार्टीले गर्नुपर्ने सहयोग गर्न तयार रहेको पनि उनीहरुले बताए। बैठक भोलि पनि बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी सकिएको नेविसङ्घका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए। रासस