कांग्रेस अब एकजुट भएर अघि बढ्छ : महामन्त्री कोइराला
प्रकाशित २०७५ भदौ २३ शनिबार
345
Shares
चितवन। नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले बिपीको सपनाअनुसार पार्टीलाई अगाडि बढाउनका लागि गुटको अन्त्य हुनुपर्ने बताए।नेपाली कांग्रेस चितवनले आज आयोजना गरेको एक सय पाँचौँ बिपी जयन्तीका अवसरमा शुभकामना आदानप्रदान एवं तीज कार्यक्रममा उनले भने, “कांग्रेस अब एकजुट भएर अघि बढ्नुपर्छ।”
महामन्त्री डा कोइरालाले कांग्रेसलाई बलियो बनाउन र बिपीको विचार अनुसार सञ्चालन गर्नका लागि आन्तरिक गुटबन्दीको अन्त्य गरी सद्भाव राख्नुपर्ने बताउँदै पार्टीभित्र रहेको गुटबन्दी अन्त्यका लागि आफू तयार रहेको र यसमा कार्यकर्ताले साथ दिनुपर्नेमा जोड दिए।
“गुटको अन्त्य गर्न म चाहन्छु तर कार्यकर्ताले साथ दिनुपर्यो, अहिले पार्टी कमजोर भएको होइन, गुटले पार्टीलाई कमजोर बनाएको हो,” उनले भने, “बिपी भन्नुहुन्थ्यो गुटबन्दीले पार्टीलाई असर गर्छ, अहिले त्यही रोग हामीमा लागेको छ।”
महामन्त्री डा कोइरालाले बिपीले आफ्नो मृत्यु हुनुअघि ठूलो मानिस होइन, असल मानिस बन्नु भनेको कुरालाई स्मरण गर्दै अब असल मानिस बन्ने र बनाउने समय आएको बताए। फरक प्रसङ्गमा उनले देशको विकास गर्ने राजनीतिक दल भनेको कांग्रेस नै रहेको चर्चा गर्दै कम्युनिष्ट सरकारहरु भ्रम छर्ने तर विकास गर्न नसक्ने बताए।
नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल महिला सङ्घकी केन्द्रीय अध्यक्ष उमा रेग्मी, कांग्रेसका केन्द्रीय सदस्य डिला सङ्ग्रौला, महिला सङ्घ चितवनकी अध्यक्ष पार्वती शाह, प्रदेशसभा सदस्य गीता वाग्ले, महाधिवेशन प्रतिनिधि गीता गुरुङ्, नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य कल्पना पौडेललगायतले मुलुकको विकास र समृद्धिका लागि बिपीको विचार र चिन्तन आज पनि उतिकै सान्दर्भिक रहेको बताए। रासस