arrow

अभिभावककै कारण बालबालिकाको भविष्य बर्बाद हुँदै

logo
हेमन्त के सी,
प्रकाशित २०७५ भदौ २४ आइतबार
Child-Labour.jpg.jpeg

जाजरकोट। कतै बाबुको मृत्यु हुँदा आमाले दोस्रो बिहे, त कतै बाबु पत्ता नलाग्दा यहाँका एक हजार पाँच सय बालबालिका जोखिमपूर्ण जिन्दगी बिताउन बाध्य भएको पाइएको छ।

आमा, बाबाको न्यानो माया र शिक्षा अनि संस्कार सिक्ने उमेरमा बेवारिसे बन्दै जिन्दगी नै धरापमा परिरहेको अवस्थाले गर्दा निकै समस्या परेको सरोकारवाला निकायको भनाइ छ। यति मात्र कहाँ हो र कतै आर्थिक अभावका कारण बिरामीको शरीर निको नहुँदा पलपल मृत्युसँग बाँचिरहेका बालबालिकाको सङ्ख्या पनि ठूलो रहेको छ, यहाँ।

जोखिममा परेका ती बालबालिका पढाइको साटो गिट्टी कुट्ने, भाँडा माझ्ने, गोठालो गर्नेलगायत कार्य गरेर जीवन निर्वाह गर्न बाध्य छन्। जाजरकोटमा एक हजार ५०० बालबालिका जोखिममा रहेको तथ्याङ्क सार्वजनिक भएको छ। यहाँका सातवटा स्थानीय तहबाट सङ्कलन गरेको तथ्याङ्कअनुसार ठूलो सङ्ख्यामा बालबालिका जोखिममा परेको देखिएको हो। ६७४ बालक र ७०० बालिका जोखिममा छन्।

बारेकोट गाउँपालिकामा १६०, जुनिचाँदे गाउँपालिकामा ५५७, शिवालय गाउँपालिकामा ११८, छेडागाड नगरपालिकामा १६४, नलगाड नगरपालिकामा २३६, भेरी नगरपालिकामा २०६ र कुशे गाउँपालिकामा सय बालबालिका जोखिममा रहेको प्रजिअ ललितकुमार बस्नेतले जानकारी दिए।

सबै स्थानीय तहका गाउँगाउँमा पुगेर तथ्याङ्क सङ्कलन गर्न नसकिएका कारण जोखिममा परेका बालबालिकाको सङ्ख्या अझ बढ्न सक्ने देखिएको छ। “गत आर्थिक वर्षमा जिल्लाबाट तीन दर्जन बालबालिका हराएकामा २७ जनाको उद्धार गरिएको थियो।” गत आवमा हराएकामध्ये नौजना बालबालिका फेला नपरेको प्रजिअ बस्नेतले बताए।

त्यस्तै जिल्लाबाट हराएका ३३ महिला अझै फेला नपरेको उनको भनाइ छ। अशक्त र जोखिममा परेका बालबालिकालाई शिक्षा, खाना तथा आवासका लागि स्थानीय सरकारले कुनै पनि खालको बजेट विनियोजन नगर्दा थप समस्या भएका नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ