नेकपा कार्यकर्ताले तरुण दलका रोल्पा अध्यक्ष मारेको घटनाप्रति कांग्रेसको घोर भर्सना र निन्दा
प्रकाशित २०७५ भदौ २५ सोमबार
726
Shares
काठमाडौं । रोल्पा जिल्ला लिवाङ्ग नगरसमितिका नेपाल तरुण दलका अध्यक्ष रोहित पुनलाई सुनिल स्मृति गाउँपालिकामा अवस्थित सुनिलचौरमा आइतबार अपरान्ह तत्कालिन नेकपा (माओवादी केन्द्र) अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का देवबहादुर घर्ती मगर लगायतले गोली हानी हत्या गरेको घटनाप्रति नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
काँग्रेसले विज्ञप्ति जारी गरी ‘यस्ता अपराधिक क्रियाकलापको नेपाली कांग्रेस घोर भत्र्सना र निन्दा गर्दछ’ भनेको छ ।
काँग्रेसले ‘इलाका प्रहरी कार्यालय सुलिचौरबाट घटनास्थल १५ मिटरको दुरीमा रहेको र हत्याराले गोली हान्दा प्रहरी मुकदर्शक भई बस्नु र तत्कालै हत्यारालाई पक्राउ गर्न तदारुकता नदेखाउनु अत्यन्त गम्भीर र दुःखद छ’ भनेको छ ।
विज्ञप्तिमा ‘यस्ता अपराधिक क्रियाकलाप रोक्न र हत्यारालाई कडा भन्दा कडा कार्वाही गर्न नेपाल सरकारसंग नेपाली कांग्रेस जोडदार माग गर्दछ’ भनिएको छ ।
काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा हत्या गरिएका रोहित पुनप्रति श्रद्धाञ्जली व्यक्त गरिनुका साथै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरिएको छ ।