दिपकराज जोशी मिश्रको नेतृत्वमा काम गर्न तयार, फेरि प्रधानन्यायाधीश हुने पालो कुर्दै !
प्रकाशित २०७५ भदौ २५ सोमबार
277
Shares
काठमाडौं । संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रलाई अनुमोदन गरेपछि त्यही समितिबाट अस्वीकृत भएका वरिष्ठ न्यायाधीश दिपकराज काममा फर्किन तयार भएका छन् ।
उनले आफू मंगलबारबाट सर्वोच्च अदालत फर्किने बताएका छन् । उनले अहिलेसम्म भइपरी आउने बिदा लिएर घरमै बसेको सुनाए । नियुक्तिको रोलक्रम अनुसार उनी भन्दा पछि रहेका मिश्रलाई संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीशमा अनुमोदन गरेको छ । उनी नैतिकताका आधारमा अब सर्वोच्च आउन लागेको बनाउँछन् ।
उनले भनेका छन्, ‘मिश्रको अनुमोदन नहुदाँसम्म न्यायालय विवादमा नआओस् भनेर म विदामा बस्नु नै उचित ठाँने । अब मंगलबारबाट नियमित काममा फर्किन्छु् ।’ उनले बरियतामा आफूभन्दा पछिल्लो स्थानमा रहेको व्यक्ति प्रधानन्यायाधीश हुँदा केही फरक नपर्ने भन्दै न्यायाधीशको कामै स्वतन्त्र भएर न्याय सम्पादन गर्ने हो, कुनै असर पर्दैन भने । राजीनामा दिने, नदिने विषयमा कुनै पनि योजना नबनेको पनि उनले जानकारी दिएका छन् ।
फेरि प्रधानन्यायाधीशको पालाे कुर्दै ?
सुनुवाइका क्रममा चित्तबुझ्दो जवाफ नआएको भन्दै संसदीय सुनुवाई विशेष समितिले जोशीको नाम गएको साउन १८ गते स्वीकृत गरिदियो । यद्यपि, उमेरहदका कारण मिश्रको कार्यावधि करिब ४ महिना मात्रै छ । जोशीको कार्यावधि करिब १ वर्ष छ । मिश्रले अवकाश पाएपछि जोशी पुनः बरियताको पहिलो नम्बरको न्यायाधीश रहने छन् । यद्यपि, रोलक्रम भने मिचिएको छ ।
मिश्र पुस १८ गते सेवानिवृत्त हुँदै छन् । मिश्र करिब ४ महिना सर्वोच्चको नेतृत्वमा रहँदा जोशी दोस्रो बरियतामा बसेर काममा फर्किनसक्ने बताइँदै छ । दुई पटकसम्म बिदा थप गरी बसेका उनले राजीनामा दिने कुनै सुरसार गरेनन् । संवैधानिक परिषदमा विपक्षी दलको नेता समेत रहन्छ ।
जोशी अस्वीकृत भएपछि मिश्रको नाममा कुनै विवाद नगरी परिषदले सर्वसम्मत नाम पठायो । तीन वटा उजुरी पर्दा पनि संसदीय सुनुवाई विशेष समितिले मिश्रबारे सर्वसम्मत निर्णय लियो । उनीविरुद्ध परेको एउटा उजुरी उजुरकर्ताले फिर्ता समेत लिए । यी सबै गतिविधि हेर्दा सबैको मौन स्वीकृतिमा विवाद नलम्व्याउने र घुमिफिरी रुम्झाटार भनेजस्तै मिश्रपछि जोशीलाई प्रधानन्यायाधीश बनाउने जस्तो देखिन्छ ।