थप रहस्यमय बन्दै निर्मला हत्याको छानविन, दिलिपको रिपोर्ट अदालतमा, उनी खोरमा
प्रकाशित २०७५ भदौ २५ सोमबार
638
Shares
काठमाडौं । कञ्चनपुर भीमदत्तनगर २ उल्टाखामकी निर्मला पन्त हत्याको छानविन थप रहस्यमय बन्दै गएको छ । उच्चस्तरीय छानबिन समितिका एक सदस्य आफूलाई ज्यान जोगाउनै मुस्किल परेको भन्दै समितिबाट अलग्गिएका छन् ।
उच्चस्तरीय छानविन समितिले कञ्चनपुरमा १५ दिन बसेर तयार पारेको प्रतिवेदनको मस्यौदा संशोधन हुँदैछ । केन्द्रमा तानिएका प्रहरी र प्रशासनिक अधिकारीहरुको विवरण समेट्न भन्दै उच्चस्तरीय छानविन समिति उनीहरुको बयानमा लागेको छ ।
प्रतिवेदन दिन दिईएको समय सकिएर म्याद थप भएको छ । समितिमा अब बाँकि रहेका ४ सदस्य गृहकै छन् । न्याय सेवाबाट रहेका सदस्य वीरेन्द्र बहादुर केसी आफ्नो हत्या हुनेसम्मको त्रासले बाहिरिएका छन् । उनले सार्वजनिक गरेको यो कुराले उच्चस्तरीय छानविन समितिको काममा पनि शंका उब्जिएको छ ।
अर्कोतिर, कञ्चनपुर प्रहरीको हिरासतमा रहेका बम दिदीबहिनीको म्याद थप मात्रै भईरहेको छ । उनीहरुले दिएको बयानबारे प्रहरीले कसैलाई केही जानकारी दिएको छैन । यस्तै, प्रहरीले निर्मलाको हत्या भएको २६औँ दिनमा संलग्न पनि सार्वजनिक गरेका दिलिप विष्टलाई पनि आइतबार ४ दिनको म्याद थप गरिएको छ । प्रहरीले मानसिक अवस्था ठिक नभएको भनिएका उननको मानिसिक र यौन उत्तेजनाबारेको स्वास्थ्य परीक्षण रिपोर्ट अदालतमा बुझाएको छ ।
कञ्चनपुर प्रहरी प्रमुख एवं एसपी कुवेर कडायतका अनुसार दिलिपको रिपोर्ट खामबन्दी गरिएको थियो । म्याद थप गर्दा अदालतमा बुझाईसकिएको छ । उनले भने, ‘४ दिनको म्याद थप गरिएको छ । अन्य कुरा अब विस्तारै थाहा होला ।’
बम दिदीबहिनीले पनि केही कुरा भनेका छैनन्, उनले थपे, ‘बम दिदीबहिनीबाट केही थप कुरा आएको छैन ।’ उच्चस्तरीय छानविन समितिबाट बाहिरिएका वीरेन्द्र बहादुर केसीका अनुसार छानविन समितिको म्याद थपिनु राम्रो होईन ।
डिएनए टेष्टको कम्प्लिकेशन र १५ दिनभित्र प्रतिवेदन पेश नगरेमा हुनसक्ने सम्भावित घटना र अपराधी उम्कन सक्ने सम्भावनाबारे समितिमा आफूले बारम्बार आफ्नो धारणा राखेको पनि उनले सुनाएका छन् । उनको भनाईबाट पनि केही न केही गडबड भएकोतर्फ शंका गर्ने ठाउँ छ ।
जानकारहरुका अनुसार नेजामति सेवाका कर्मचारीको नेतृत्वमा छानविन समिति बनाउनु नै गलत हो । विधि विज्ञान र विषयविज्ञहरुको छानविन समिति नबन्नु, प्रहरी प्रमुखले नै मानसिक अवस्था ठिक नभएकाले यस्तो अपराध गर्दैनन् भन्ने ग्यारेन्टी छैन भन्नु, मानसिक अवस्था ठिक नभएको भनिएका दिलिप विष्टको मानसिक र यौन उत्तेजनाबारे परीक्षण गराउनु तथा अनुसन्धानका क्रममा भएका विभिन्न गतिविधिहरुले गम्भीर शंका उब्जाएका छ । त्यतिमात्रै होईन अधिकारकर्मीहरु बाेल्न छाेड्नु र छानविन समितिमा बसेकै कारण समितिका सदस्यले जीउ ज्यानको सुरक्षाका लागि सबैलाई गुहार्नु निकै शंकास्पद छ ।