महासमिति बैठक पटक पटक नसार्न नेतृत्वलाई शेखर कोइरालाको आग्रह
प्रकाशित २०७५ भदौ २५ सोमबार
648
Shares
भद्रपुर। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेस महासमिति बैठकको मिति पटक पटक नसार्न नेतृत्वलाई आग्रह गरेका छन्।
बिपी जयन्तीका अवसरमा कांग्रेस झापा क्षेत्र नं १ द्वारा आज मेचीनगरमा आयोजित विचार गोष्ठीमा उनले भने, “पार्टी केन्द्रीय समितिको बैठकले भदौमा हुने भनिएको महासमिति बैठक आगामी मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौँमा आयोजना गर्ने निर्णय गरिसकेको छ, अब त्यसलाई सार्नुहुदैन्।”
केन्द्रीय सदस्य डा कोइरालाले महासमितिको बैठकले पार्टीको नयाँ विधान निर्माण गर्ने भएकाले अहिलेदेखि नै वडादेखि केन्द्रीय तहसम्म विधानमा कस्तो व्यवस्था गर्ने भन्ने विषयमा बहस र छलफल चलाउनुपर्नेमा जोड दिए।
दुई तिहाइको अहङ्कार प्रदर्शन गरिरहेको कम्युनिस्ट सरकारलाई अराजक हुनबाट रोक्न कांग्रेसमा बलियो नेतृत्व चाहिएको उल्लेख गर्दै “कम्युनिस्टहरु बलियो भएर कांग्रेस चुनावमा हारेका होइन्, सङ्गठन कमजोर भएर पराजित भएको हो।”
पार्टीका प्रवक्ता एवम् केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले कांग्रेसमा आन्तरिक एकता बलियो हुन जरुरी रहेको बताउँदै एउटै थालमा भात खाएर हुर्किएका शेरबहादुर देउवा र रामचन्द्र पौडेल एकै ठाउँमा उभिएर नेतृत्व दिन किन नसक्ने भनी प्रश्न गरे।