arrow

कम्युनिष्टहरुले काम भन्दा कुरामात्र गर्छन् भन्ने कुरा जनताले थाहा पाइसकेः डा महत

logo
प्रकाशित २०७५ भदौ २५ सोमबार
prakashsharan-mahat-biratnagar.jpg

विराटनगर। नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले नेपालका कम्युनिष्टहरुले कुरामात्र गर्छन् काम गर्दैनन् भन्ने कुरा जनताले थाहा पाइसकेको बताएका छन् । 

मोरङमा सोमबार १ नम्बर प्रदेशका जिल्लाका नेपाली काँग्रेसका कोषाध्यक्षहरुको सम्मेलनलाई सम्बोधन गर्दै महतले भने– नक्कली आस्वासनका लागि धेरै समय कुर्नै पर्दैन जनताले केही महिनामै देखिसके यहाँका कम्युनष्टिहरुले काम होइन कुरामात्र गर्छन् ।

कम्युनिष्ट पार्टीले आफ्नो चुनावी घोषणापत्रमा के राखेका थिए र अहिले के भएको छ भन्ने कुरा आफैले हेर्नुपर्ने भन्दै डा.महतले त्यसैले त सो पार्टीका नेताहरुले नै आफूलाई कम्युनिष्ट भन्न लाज लाग्न थालेको कुरा सार्वजनिक रुपमा भाषण गर्दैै हिँडीरहेको सबैले देखेको उनले बताए ।

देशमा शान्ति सुरक्षाको कुनै प्रत्याभूति छैन, हत्या हिंसाका शृंखला झन् बढ्दो रुपमा देखिन्छ, महंगीले जनता सबैभन्दा बढी आक्रान्त छन्, सरकारले बजार अनुगमनको नाटक गर्छ तर पनि कालाबजारियालाई कारबाही गरेर जनताको पक्षमा निर्णय गरेको कहिल्यै सुनिँदैन भन्दै डा.महतले सरकार यी सबै काममा फेल भइसकेको र जनताको पक्षमा काम गर्न नसकेको बताए ।

अहिलेको सरकारले कानुनी शासनको खिल्ली उडाएको महतले बताए । सरकारले विधिको शासन र न्याय देशमा कायम राख्न नसकेको सबैका आँखा अगाडि नै छर्लङ्गै रहेकोले यो सरकार असफल भएको निष्कर्ष काँग्रेसको रहेको उनको भनाई थियो । 

तर पनि सरकारले समृद्धिको सपना बाँड्न नछोडेको आरोप सहमहामन्त्री डा.महतले लगाए । उनले भने– सरकारले केवल भोट बटुल्नका लागि जसरी निर्वाचनका बेलामा आस्वासनका पोकाहरु बाँडेको थियो, अहिले पनि उ सपनामै छ, उठेको छैन किनभने प्रधानमन्त्री र मन्त्रीका भाषण सुन्दा लाग्छ उनीहरुले काम थाल्नुपरेको छैन, भाषण मात्र गरे पुग्छ । 

नेपाली जनताको समस्या र आवश्यकताको अगुवाई गर्ने पार्टी नेपाली काँग्रेस नै हो भन्दै डा.महतले यतिखेर देशको कुनाकाप्चाका नेपाली जनताले नेपाली काँग्रेसलाई सम्झिरहेकोले पार्टीलाई नयाँ शैली र उर्जाका साथ अघि बढाउने काममा अब काँग्रेस लाग्ने बताए ।   

विपी स्मृति दिवसका अवसरमा आयोजना गरिएको भेलामा डा.महतले नेपालमा लोकतन्त्रको जग बसाल्ने काम विपी कोइरालाले गर्नुभएको चर्चा गरे।  

अहिले सरकारले समृद्धिको नारामात्र लगाएको तर त्यतिबेला विपी कोइरालाले देशलाई समृद्ध बनाउने कामै थाल्नुभएको र नेपाल कसरी समृद्ध हुन्छ भन्ने खाका कोर्नुभएको यथार्थ सबै नेपाली नागरिकमा जगजाहेर नै रहेको उनले बताए । 

नेपालमा लोकतान्त्रिक पद्दतिको जग बसाल्ने काममा विपी कोइरालाले पुर्‍याउनुभएको योगदानलाई नेपालले कहिल्यै विर्सन नसक्ने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ