मानव बेचविखनको डरलाग्दो तथ्याङ्क : महिला भन्दा पुरुष ३ भाग बढी बेचिन्छन् !
‘प्रहरीले हात उठायो’
प्रकाशित २०७५ भदौ २६ मंगलबार
327
Shares
काठमाडौं । सुन्दा अचम्म लाग्न सक्छ, मानव बेचविखनमा महिला भन्दा पुरुष प्रताडित छन् भन्दा । तर, राष्ट्रिय मानवअधिकार आयोगको मानव बेचविखन सम्बन्धी राष्ट्रिय प्रतिवेदनले त्यही भनेको छ,, ‘मानव बेचविखनमा महिलाभन्दा पुरुष बढी सिकार भएका छन् ।’
आयोगले सार्वजनिक गरेको २०१८ को मानव बेचविखनसम्बन्धी राष्ट्रिय प्रतिवेदनमा यस्तो तथ्य छ । सन् २०१७–२०१८ मा ६ सय २९ घटनामा ४ सय ६३ जना पुरुष र १ सय ६६ महिला बेचविखनको सिकार भएको प्रतिवेदनमा उल्लेख छ । त्यसमा पनि एक तिहाई बालबालिका परेका छन् ।
वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश जाने सिलसिलामा पुरुष बेचविखनमा परेको मानवअधिकार आयोगको ठहर छ । उनीहरुको बेचविखन रोजगारीका नाममा हुने गरेको छ । तर, उनीहरुको उपयोग भने डरलाग्दो छ । कम उमेरकाहरु यौन र शरीरका अंग साटफेरका लागि प्रयोग गरिन्छन् ।
मानव बेचविखनका २ सय २७ वटा घटनामा प्रहरीले मुद्दा चलाएको र ७ हजार बढीको उद्धार गरिएको कुरा मानवअधिकार आयोगको प्रतिवेदनमा उल्लेख छ । वैदेशिक रोजगारीका नाममा सरकारले विदेशीलाई तालाचाबी बुझाएको टिप्पणी समेत हुन लागेको छ ।
मानव बेचविखन नियन्त्रणका लागि आवश्यक सुरक्षित आप्रवासनको नीति र सरकारी समन्वय अभावले घटनाक्रम बढेको औँल्याइएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मानव बेचविखन नियन्त्रणमा सरकारी संयन्त्रको समन्वय अति जरुरी रहेको बताए । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मानव बेचविखनमा ठूलो सञ्जाल सक्रिय रहेकाले प्रहरीको एक्लो प्रयासले सम्भव नभएको बताए । उनले सम्बद्ध सबै निकायको सहयोग चाहिने आवश्यकता औँल्याए । उनले भने, ‘प्रहरी एक्लैको प्रयासले नियन्त्रणमा समस्या छ ।’