सुन तस्करी प्रकरण : डीएसपी केसी पनि रिहा, गोरेका सहयोगीलाई ५ लाख
प्रकाशित २०७५ भदौ ३१ आइतबार
424
Shares
विराटनगर । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका प्रहरी नायब उपरीक्षक डीएसपी प्रजित केसी समेत साधारण तारेखमा छुटेका छन् । उच्च अदालत विराटनगरको आदेशमा उनी साधारण तारेखमा छुटेका हुन् ।
सुन तस्करी र सनम शाक्य हत्यालगायतको अभियोगमा जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएकोमा अभियुक्तले उच्च अदालतमा अपिल गरेका थिए । यसअघि गएको शुक्रबार उच्च अदालतले विराटनगरले एसएसपी दिवेश लोहनीलाई पनि साधारण तारेखमा छाड्ने आदेश दिएको थियो ।
न्यायाधीश नागेन्द्रलाभ कर्ण र शारङगा सुवेदीको संयुक्त इजलासले मोरङ जिल्ला अदालतको आदेश बदर गरेको थियो । लोहनीले असार ७ मा थुनामुक्त हुन पाउ भनि दिएको निवेदनको सुनवाई गर्दै अदालतले कारागार मुक्त गर्न आदेश गरेको हो ।
मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको अनुसन्धान त्रृटीपूर्ण गरेको आरोपमा लोहनी सहित महानगरीय अपराध महाशाखाका डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई प्रतिवादी बनाएर मुद्दा परेको थियो ।
यसअघि उच्च अदालतले डिएसपी सञ्जयबहादुर राउतलाई समेत थुनामुक्त गर्न अस्विकार गरेको थियो । सरकारले अनुसन्धानका लागि २०७४ चैत २० को मन्त्रिपरिषद्को बैठकले बिशेष टोली गठन गरेको थियो । गृह सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठन भएको टोलीले ७५ जनाविरुद्ध मुद्दा अदालतमा बुझाएको छ । जसमध्ये ४५ जना पक्राउ परेका थिए ।
उच्च अदालत विराटनगरले साढे ३३ किलो सुन तस्करीका मुख्य योजनाकार मानिएका चुडामणि उप्रेती गोरेका सहयोगी रामकुमार केसीलाई भने पाँच लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।