वायुसेवा निगममा कार्यकारी अध्यक्ष ल्याएर सरकार फेरि विवादमा, नेकपाभित्रबाटै आलोचना
प्रकाशित २०७५ असोज १ सोमबार
1k
Shares
काठमाडौं। सरकारले हचुवामा निर्णय गर्दै आउँदा निरन्तर विवादमा फस्दै आएको छ। पछिल्लो समय सरकारले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा मदन खरेललाई नियुक्त गरेर विवादमा तानिएको छ।
आइतबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले खरेललाई निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो। गत शुक्रबार सरकारले खरेललाई निगमको सञ्चालक समिति सदस्यमा नियुक्त गरेको थियो।
कार्यकारी अध्यक्षका रुपमा खरेल आइसकेपछि निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई नैतिक दबाब परेको छ।
खरेललाई नियुक्त गरेसंगै सरकारको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रबाटै चर्को आलोचना भएको छ।
समाजिक संजालबाट समेत यसको विरोध हुन थालेको छ। नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले त विगत नसम्झेको भन्दै सत्ताधारीलाई पुराना कुरा सम्झने फुर्सद नै छैन भनेर व्यङ्ग्य गरेका छन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘सत्तामा बस्नेहरूलाई सायद पुराना कुरा सम्झिने फुर्सद हुँदैन। नत्र वासुसेवा निगममा सुगतरत्न कंसाकार अध्यक्ष र केबी लिम्बु एमडी हुँदाको रडाको बिर्सेर फेरि कार्यकारी अध्यक्ष र एमडी किन बनाइन्थ्यो होला? काम गर्न नसकेर निगमबाट बाहिरिएका मदन खरेलमा के जादु रहेछ कुन्नि ?'