ओखलढुंगा। उदयपुरको घुर्मीमा जीप दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ। दुर्घटनामा परि ८ जना घाइते भएका छन्। काठमाडौंबाट ओखलढुंगातर्फ आउँदै गरेको ना १ ज ७९६९ नम्बरको जीप उदयपुरको कटारी नगरपालिका–१४, घुर्मी बजार नजिक दुर्घटना भएको हो।
दुर्घटनामा विदेशी नागरिक हुलेस सेभेलको घटनास्थलमै ज्यान गएको घुर्मीका ट्राफिक इन्चार्ज रामकुमार साहले जानकारी दिए। जीपमा सवार २ विदेशी नागरिकमध्ये मृतक महिला हुन्। उनी कुन देशकी नागरिक हुन् भन्ने खुलेको छैन। चालक र एक विदेशी नागरिक सहित ८ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ। उनीहरुलाई उपचारका लागि राजधानी पठाइएको प्रहरीले जनाएको छ।