उच्चकोटिका जनशक्ति उत्पादन गर्न त्रिविलाई प्रधानमन्त्रीको आग्रह
प्रकाशित २०७५ असोज २ मंगलबार
520
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयले समृद्ध नेपालका लागि आवश्यक पर्ने उच्चकोटिको जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताएका छन् ।
विश्वविद्यालयसभाको साधारण बैठकलाई मंगलबार कीर्तिपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वविद्यालयले आफ्नो शिक्षण विधिलाई आधुनिक र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिँदै संघीय र गणतन्त्रात्मक प्रणालीअनुकूल शैक्षिक प्रणालीमा सुधार आउनुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले अबको पुस्ताले देश निर्माण नगरेर छुट पाउने अवस्था नरहेको बताउँदै भने, “जनताका लागि सबै व्यवस्था र प्रणाली स्थापना गरेका छौँ, त्यस कारण देश बनाउन केहीले रोक्दैन । हामीले अब कसैलाई दोष देखाएर उम्कने ठाउँ छैन ।”
प्रधानमन्त्री ओलीले शिक्षाबाट ज्ञान मात्र हैन आचरण पनि निर्माण गर्नुपर्ने बताउँदै खस्कँदो नैतिक मूल्यमान्यतालाई पुनजागृत गराउने काममा समेत विश्वविद्यालय शिक्षाको पाठ्यक्रमले ध्यान दिनुपर्नेमा जोड दिए ।
यसैबीच त्रिवि सभाले आर्थिक वर्ष २०७५-०७६ का लागि रु २१ अर्ब १० करोड ८० लाख १३ हजार बजेट पारित गरेको छ । रासस