प्रदेश २ को राजधानीकै मुख्य चोकमा सीके राउतले गरे संविधान विरोधी सम्बोधन
प्रकाशित २०७५ असोज ३ बुधबार
316
Shares
काठमाडौं । प्रहरीकाे निगरानीमा रहेका सिके राउतले प्रदेश २ को राजधानी जनकपुरको मुख्य चोकमै संविधानको विरोधमा सम्बोधन गरेका छन् ।
उनले जनकपुरको रामानन्दचोकमा हजारौं कार्यकर्ता उतारे । उनले सम्बोधन गरिरहेका बेला प्रहरी हेरिरहयो । जनकपुर प्रहरीले मंगलबार साँझसम्म राउतको खोजी भइरहेको भनेको थियो । मंगलबार सप्तरीमा उपेन्द्र यादव उपस्थित हुने क्रार्यक्रममा विरोध गर्न सक्ने भन्दै प्रहरीले पहिले ने सीके राउतका कार्यकर्ता पक्रिएको थियो ।
सरकारले राष्ट्रिय उत्सवको रुपमा संविधान दिवस मनाइरहेकै बेला स्वतन्त्र मधेस गठबन्धन बनाएर स्वतन्त्र मधेसको मुद्दा उठाइरहेका राउतले प्रदेश २ को मुकाम अथवा राजधानी जनकपुरकै मुख्य चोकमा संविधानविरुद्ध कडा शब्दमा सम्बोधन गरे ।
सिके राउतले जनकपुरमा सम्बोधन गरे भने सुनसरीको सदरमुकाम इनरुवामा उनका कार्यकर्ताले प्रदर्शन गरेका छन् । यस्तै, रुपन्देहीको गैडहवामा आमसभा गरेको खबर आएको छ ।
उनले आफ्ना कार्यकर्ता राममनोहर यादवको प्रहरी हिरासतमा भएको मृत्युप्रति श्रद्धाञ्जलि दिन तथा संविधानको विरोधमा कार्यक्रम गरेको बताएका छन् । यता, सरकारले मूलधार बाहिर रहेका राजनीतिक संगठन तथा द्वन्द्वरत समूहसँग वार्ता थालेको छ । तर, सीके राउत समूहलाई त्यो टोलीले वार्ताको लागि आह्वान नगर्ने जनाएको छ ।