रामचन्द्र हराएका कृष्णकुमारको घोषणा : विद्यालयलाई एक महिनाको तलब
प्रकाशित २०७५ असोज ४ बिहिबार
277
Shares
दमौली । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले आफ्नो एक महीनाको तलब भानु नगरपालिका–३ स्थित जनजागृति माध्यमिक विद्यालयलाई दिने घोषणा गरेका छन् ।
विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले सोमबारदेखि आयोजित श्रीमद्भागवत महायज्ञमा सांसद श्रेष्ठले तलबबापतको ५० हजार विद्यालयलाई सहयोग गर्ने घोषणा गरेका हुन् ।
सो अवसरमा सांसद श्रेष्ठले प्राविधिक शिक्षा अहिलेको आवश्यकता भएकोमा जोड दिए। आफू यसै क्षेत्रबाट निर्वाचित भएको भन्दै उनले विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
सांसद श्रेष्ठले यसअघिका महीनाको सबै तलब जिल्लास्थित विभिन्न सामाजिक सङ्घसंस्थालाई सहयोग गरेका छन् । उनले व्यास नगरपालिका–१४ को छाब्दीबाराही विकास कोष, ब्यास नगरपालिका–१० स्थित सुधेरी गैरखानेपानी उपभोक्ता समिति, ब्यास नगरपालिका–१ अम्रेनीस्थित शिव मन्दिर र भानु नगरपालिका–६ स्थित कालिका मन्दिर, ब्यास नगरपालिका–११ तनहुँसुरस्थित तनहुँसुर खानेपानी योजना र भानु नगरपालिका–१० स्थित दुधेकुना मन्दिरलाई रु ५०-५० हजार प्रदान गरेका थिए ।
तनहुँ क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गर्दै बाम गठबन्धनका उमेदवार कृष्णकुमार श्रेष्ठ ‘किसान’ विजयी भएका थिए ।रासस