नयाँ दिल्ली। पर्वत जिल्ला स्थायी घर भई केही वर्षदेखि उत्तरी दिल्लीमा पर्ने इब्राहिमपुरमा रहेको श्रीनिवास संस्कृत विद्यापीठमा अध्ययनरत छात्र दण्डपाणी आचार्य मिलेसम्म दिल्लीमा आयोजना हुने कुनैपनि संस्कृतसँग जोडिएका प्रतियोगितामा सहभागी हुन छाड्दैनन्। फेरि अर्को पनि निश्चित जस्तै छ कि उनले भाग लिएको जस्तासुकै प्रतियोगितामा कुनै न कुनै नतिजा उनकै पोल्टामा आउने लगभग निश्चित प्रायः नै हुन्छ। झण्डै १५ वर्षीय उनी अहिले विद्यापीठमा वेद पढ्दैछन्।
त्यस्तै, सोही गुरुकूलका अर्का विद्यार्थी धर्मराज दुलाल पनि दिल्लीको जस्तासुकै कार्यक्रममा आफ्नो क्षमता प्रस्तुत गरेर चर्चामा छन्। आफ्नो घर झापा बताउने दुलाल पनि आफू सहभागी भएको कार्यक्रममा केही न केही पुरस्कार नलिई फिर्ता नहुने गरेको विद्यापीठ प्रशासनबाट प्राप्त विवरणले देखाउँछ।
अवसर पाएमा नेपालीहरुले विश्वका जुनसुकै कुनामा पनि पुगरेर आफ्नो क्षमता प्रस्तुत गर्नसक्छन् भन्ने दृष्टान्त त धेरै पाउन सकिन्छ। संस्कृतको दुनियाँमा यी दुई किशारहरुलाई अवसर भने श्रीनिवास संस्कृत विद्यापीठले नै दिएको हो। तीन दर्जन भन्दा बढी नेपालीहरु अध्ययनरत गुरुकूलले नेपालको एउटा कूनामा लुकेको प्रतिभालाई दिल्लीमा पोख्ने अवसर दिएको छ।
दिल्ली सरकारले संस्कृत शिक्षाको विकास र संस्कृत पढ्ने विद्यार्थीहरुको वृत्तिविकासको लागि भनेर हरेक वर्ष दर्जनौ कार्यक्रमहरु गर्ने गरेको छ। तर, यी सबैजसो कार्यक्रममा श्रीनिवास संस्कृत विद्यापीठका विद्यार्थीहरुले भागलिएसम्म कुनै न कुनै स्थान विद्यापीठले अवश्य पाउने गरेको विद्यापीठको तथ्यांकले देखाएको छ। यसरी प्रतियोगितामा विजय हाँसिल गर्नेहरु अधिकांश नेपालीहरु नै रहेका छन्।
गत मंगलवार दिल्ली संस्कृत अकादामीकै आयोजनामा दिल्लीमा एक शलाका प्रतियोगिता भएको थियो। सो शलाका प्रतियोगिता पनि पुरै दिल्ली प्रदेश स्तरीय थियो। विभिन्न विद्यालयका १५ जना प्रतिस्पर्धीहरु रहेको सो कार्यक्रममा शिवराज विजय नामक एक संस्कृत ग्रन्थको कण्ठस्थी, त्यसको व्याकरण विन्यास लगायतका विषयहरुमा गरिएको सो कार्यक्रममा पनि प्रथम र द्वितीय दुबै नेपाली भए भने प्रथम द्वितीय र तृतीय तीनवटै स्थान श्रीनिवास विद्यापीठका विद्यार्थीहरु नै भए।
शलाका प्रतियोगिताको लागि झण्डै १५ दिनको समय दिईन्छ र प्रतियोगिताको दिन सो पुस्तकको विषयमा जस्ता सुकै पनि प्रश्न सोध्न सकिन्छ। यो एक कठिन प्रतियोगिताको रुपमा लिईन्छ। यसरी लिईएको सो प्रतियोगितामा पनि प्रथम स्थान दण्डपाणी आचार्यले नै प्राप्त गरे भने द्वितीय स्थान धर्मराजले पाए। तृतीय स्थान भने विहारका सत्यप्रकाश तिवारीले प्राप्त गरे।
त्यसो त यी विद्यार्थीहरुले यस अघि पनि प्रथम द्वितीयको उपाधि धेरै पटक पाईसकेका छन्। विद्यापीठबाट प्राप्त विवरण अनुसार गत फेब्रुअरी २ तारिकमा भारतकै सबैभन्दा ठूलो संस्कृत संस्थाको रुपमा आफ्नो पहिचान बनाएको संस्कृत भारतीले आयोजना गरेको संस्कृत सूत्रान्त्याक्षरी प्रतियोगितामा दुलाल प्रथम भए भने आचार्य सो कार्यक्रममा द्वितीय भए। सोही संस्थाले सोही दिन आयोजना गरेको कार्यक्रममा आचार्यले आशु श्लोक निर्माण प्रतियोगितामा प्रथम भए भने भारतको उत्तर प्रदेश स्थायी घर भएका अनुराग त्रिपाठी द्वितीय भएका थिए। सोही कार्यक्रममा रचनात्मक लेखनमा नेपाली मूलका बसाई सरेर आसाममा अहिले स्थायी बासिन्दा बनेका विनायक शर्मा प्रथम भएका थिए। यसरी एउटै दिन भएको सबै कार्यक्रममा मूल पुरस्कार नेपाली विद्यार्थीहरुले नै हात पारेका थिए।
त्यस्तै, मार्च महिनामा भएको श्रीमद्भागवत् गीता सुनाउने प्रतियोगिता भएको थियो। त्यसमा नेपाली मूलका अहिले अयोध्यामा स्थायी बसोबास गरिरहेका दिवाकर अधिकारी, चितवन स्थायी घर भएका लक्ष्मण न्यौपाने, विनायक शर्मा र दण्डपाणी आचार्यले नै क्रमशः प्रतिव्यक्ति ११ हजार रुपैयाँ जितेका थिए। यो गुरुकूलका दर्जनबढी विद्यार्थीहरुलाई अहिले श्रीमद्भागवत् गीता, विभिन्न वेदहरु कण्ठस्थ नै छ।
त्यस्तै, संस्कृत शालाका प्रतियोगिताहरुमा केही कार्यक्रमलाई छाडेर आचार्य र दुलालले नै प्रथम वा द्वितीय स्थान हासिल गरिरहेका छन्। गत डिसेम्बरमा भएको शलाका प्रतियोगिता होस् या त गत अक्टोबरमा भएको कार्यक्रममा नै किन नहोस् सबै यही विद्यार्थीहरुको हातमा उपाधि आउनेमा निश्चितप्राय हुनेगरेको अकादामीका कर्मचारीहरु बताउँछन्।
दिल्ली संस्कृत अकादमी नामक संस्थाले गर्ने जस्ता सुकै संस्कृतसँग जोडिएका विषयमा पनि श्रीनिवास गुरुकूलका केही छात्रहरुको प्रथम द्वितीय र तृतीय मध्ये एक स्थान सुरक्षित नै हुन्छ भन्दा पनि फरक नपर्ने दिल्ली संस्कृत अकादामीका कर्मचारीहरु बताउँछन्। अकादामीका सचिव डा. जीतराम भट्टले आफूसँग सम्बन्धित विषयसँगै उक्त गुरुकूलका छात्राहरुको सिर्जनशीलता र उपलब्धीको श्रेय गुरुकूललाई जाने बताए।
संस्कृत जगतमा पनि बाहिरी संस्कृत इतरका क्षेत्रमा जस्तै आ आफ्नै शैलीका प्रतिस्पर्धाहरु हुने गर्दछन्। संस्कृत सम्भाषण प्रतियोगिता, संस्कृत भाषामा नै आशु कविता लेखन प्रतियोगिता जस्ता अनेकौ सिर्जशील कार्यक्रमहरु हुने गर्दछ।