arrow

नेपाली विद्यार्थीलाई उपराष्ट्रपतिको आग्रह - उत्कृष्ट नतिजा ल्याएर नेपालको शीर उँचो पार्नु

logo
प्रकाशित २०७५ असोज ६ शनिबार
pun1.JPG

काठमाडौँ । चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनले सिचुवान प्रान्तको यिपिन क्षेत्रको भ्रमण गरेका छन् । उनले शनिबार विभिन्न विश्वविद्यालय, मोबाइल उत्पादक कम्पनीको अवलोकन भ्रमण गरे।

यिपिन पोखरासँग यही असोज १ गते भगेनी सम्बन्धमा जोडिएको चिनियाँ शहर हो । ५५ लाख ६० हजार जनसङ्ख्या भएको यिपिनलाई ‘रक्सी र बाँसको शहर’ भनेर चिनिन्छ ।

उपराष्ट्रपतिले शनिबार बिहान सिचुवान युनिभर्सिटी एण्ड इञ्जिनीयरिङको भ्रमण गरे । भ्रमणको क्रममा उनलाई विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीले स्वागत गरेका थिए ।

नेपाली विद्यार्थीसँग संक्षिप्त अन्तरक्रिया गर्दै उपराष्ट्रपतिले विश्वविद्यालयमा उत्कृष्ट नतिजा ल्याएर नेपालको शीर उँचो राख्न आग्रह गरेको उपराष्ट्रपतिको प्रेस संयोजक मनोज घर्तीले जानकारी दिए। उनले यिपिन नगरका चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का सचिवले सिचुवान युनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थी उत्कृष्ट रहेको बताउँदै थप प्रगतिका लागि शुभकामना दिए ।

विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीले आफूहरूले उत्कृष्ट नतिजा ल्याउन कोशिस गरिरहेको बताए । विश्वविद्यालयका अन्तर्राष्ट्रिय विद्यार्थी एशोसिएसनका अध्यक्ष सुरजले आफूहरुले राम्रो गरिरहेको बताए ।
 
उपराष्ट्रपतिले लिनकाङ आर्थिक क्षेत्रमा रहेको डोब मोबाइल र लिगो मोबाइल उत्पादन उद्योगको अवलोकन भ्रमण गरे। उनले चीनको सबैभन्दा लामो नदी याङसीमा बनेको यिपिन बन्दरगाहको समेत अवलोकन भ्रमण गरे ।
 
उपराष्ट्रपतिले आज नै आधुनिक चीनका भवन निर्माण डिजाइनका बुवा मानिने लियाङ सिछङको निवासको अवलोकन भ्रमण गरे। लियाङ चीन जापान युद्धको बेला बेइजिङबाट याङसी नदीको किनारमा रहेको लिच्वाङमा आएर बसेका थिए । उनले त्यहीँ बसेर आधुनिक चीनको भवनको डिजाइन गरेका थिए । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ