बाघ संरक्षणमा नेपालको अभूतपूर्व सफलता : डब्ल्युडब्ल्युएफ
प्रकाशित २०७५ असोज ८ सोमबार
337
Shares
काठमाडौं। “विश्वले नेपालबाट पाठ सिक्नु पर्दछ। किनकी नेपालमा दुर्लभ वन्यजन्तुका रुपमा रहेको बाघको सङ्ख्या करीब दोब्बर भएको छ।” यो भनाइ हो विश्व वन्यजन्तु कोष (डब्ल्युडब्ल्युएफ) का वरिष्ठ उपाध्यक्ष गिनेट्टा ह्याम्लीको हो। आर्थिक वर्ष २०६६-६७ मा नेपालमा बाघको सङ्ख्या केवल १२१ मात्रै थियो। सरकारले आइतबार सार्वजनिक गरेको तथ्याङ्कमा बाघको सङ्ख्या बढेर २३५ पुगेको छ। सरकारले बाघको सङ्ख्या सार्वजनिक गरेपछि कोषको तर्फबाट उक्त प्रतिक्रिया आएको हो।
कोषले नेपालले आश्चर्यजनक सफलता प्राप्त गरेको र वन्यजन्तु संरक्षणमा महत्वपूर्ण योगदान गरेको भन्दै खुशी व्यक्त गरेको छ। “विश्वका बाघ पाइने १३ देशमध्ये सानो हिमाली देश नेपालले रोमाञ्चक र अभूतपूर्व सफलता प्राप्त गरेको छ”, कोषले भनेको छ। कोषले कार्यक्रम टिएक्स टु कार्यक्रम सफल बनाउनेमा नेपाल अग्रस्थानमा रहेको जनाएको छ।
यो एउटा सफलताको उदाहरण हो, वन्य नेपालले जुन प्रकारको श्रेष्ठता हासिल गरेको छ, त्यो आफैँमा अद्विप्तीय छ। बाघको बासस्थान तथा रुचिकर भू–बनोटका कारण पनि संरक्षणमा सफलता प्राप्त भएको कोषको भनाइ छ।
वन तथा भू–संरक्षण मन्त्रालय मातहतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँग कोषले सहकार्य गर्दै बाघ संरक्षणमा योगदान गरेको र बाघ गणनामा समेत सहभागी भएको जनाएको छ। विभागसँगको सहकार्यमा चार हजार ३८७ वटा बाघको तस्वीर खिचेको तथा एक हजार ७०० माइल वन जङ्गल क्षेत्रमा बाघ गणना गरिएको थियो।
नेपालको तराई र भारतको सीमा क्षेत्रसँग जोडिएका स्थानमा गैँडा, हात्ती र ७० लाख बढी स्थानीयवासीसमेत रहेको पाइएको छ। बाघ संरक्षणमा सरकारले कानून कार्यान्वयन गर्ने निकायलाई सशक्त बनाएको, स्थानीय समुदाय र गैरसरकारी संस्थासँग समेत सहकार्य गरेका कारण पनि उल्लेख्य प्रगति हासिल गर्न सफल भएको कोषले उल्लेख गरेको छ।
नेपाल, भूटान, भारत, रसियाले बाघको सङ्ख्या बढाउन महत्वपूर्ण योगदान गरेको भन्दै कोषले नेपालले प्राप्त गरेको सफलता भने अद्वितीय रहेको जनाएको छ। कोषले सरकार, वैज्ञानिक, वनपाले र स्थानीय समुदायसँग मिलेर एसियामा बाघको चोरी शिकारी नियन्त्रण र बासस्थान संरक्षणमा काम गर्दै आएको साथै मानव र बाघबीचको द्वन्द्वलाई उपयुक्तरुपमा सम्बोधन गर्न प्रयासरत रहेको उल्लेख गरेको छ।
सरकारले बाघ संरक्षण उच्च प्राथमकितामा रहेको र पछिल्लो पटक बढेको सङ्ख्याले समेत उत्साहित बनाएको जनाएको छ। करीब १०० वर्ष पहिले संसारभर एक लाख बढी बाघ भए पनि चोरी शिकारी, बासस्थानको अतिक्रमण तथा फँडानीका कारण क्रमशः घट्दै गएको र सन् २०१६ मा आइपुग्दा तीन हजार २०० को हाराहारीमा आइपुगेको छ।
कोषले सन् २०१६ मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार विश्वमा बाघ पाइने १३ देशमध्ये भारतमा दुई हजार २२६, रसियामा ४३३ र इण्डोनेशियामा ३७१ बाघ पाइएको छ।