कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना पूरा भएको छ । गत साउन १० गते साथीको घरमा ‘होमवर्क’ गर्न गएकी उनको बलात्कारपछि हत्या भएको थियो । साउन ११ गते निर्मलाको शव घर नजिकैको उखुबारीमा फेला परेको थियो ।
घटना भएको दुई महिना भइसक्दा पनि दोषी पहिचान हुन सकेको छैन । साउन ११ देखि नै अनुसन्धानमा जुटेको प्रहरी प्रशासनले अहिलेसम्म घटनामा संलग्न अपराधीबारे कुनै ठोस प्रमाण जुटाउन सकेको छैन । प्रहरकिो अनुसन्धान जिरो बराबर छ ।
कञ्चनपुर प्रहरीले अनुसन्धान जारी रहेको र अपराधी नजिक पुगेको त जनाएको छ तर उनको क्रियाकलाप बुझ्दा अपराधीबारे सानो सुराकसम्म प्रहरीले फेला पार्न सकेको छैन ।
अनुसन्धानमा कञ्चनपुर प्रहरीलाई प्रहरी प्रधान कार्यालयले बनाएको अनुसन्धान टोलीले सघाए पनि त्यो सघाइले कुनै उपलब्धि दिएको छैन ।
यसअघि सीआईबी टोली घटनाको प्रमाण लुकाउन खोजेको आरोपमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख (निलम्बित) एसपी डिल्लीराज विष्टसँगै फसेको थियो ।
अहिलेसम्म प्रहरीका ६ जनालाई निलम्बन गरेर कार्वाही अनुसन्धान प्रक्रिया अगाडि बढेको छ ।
प्रहरीले नै प्रमाण नष्ट गरेको भन्ने आरोप लागेसँगै प्रहरीले तत्कालीन एसपी डिल्लीराज विष्ट, सीआईबीका डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, दुई जना प्रहरी निरीक्षक र एक जना असईलाई निलम्बन गरेको थियो ।
गत भदौ ३१ गते नेपाल प्रहरीले घटनाको विषयमा छानविन गर्न डीआइजी धीरु बस्नेतको संयोजकत्वमा समिति पुनर्गठन गरी फेरि अनुसन्धानका लागि कञ्चनपुरमा रहेको छ ।
तर यो समितिले पनि अहिलेसम्म ठोस प्रमाण पनि जुटाउन सकेको छैन । प्रहरीले हत्याराको कुनै सुइँको पाउन सकेको छैन ।
घटनाको अनुसन्धानमा प्रहरीको गल्तीका कारण अनुसन्धान झन्झटिलो बनेको प्रहरी अधिकृतको भनाइ छ । निर्मला हत्याकाण्डमा प्रहरी प्रशासन निकै आलोचित भए पनि त्यसले कुनै प्रभाव पार्न सकेको छैन ।
आन्दोलन चर्कियो, थर्किएन प्रहरी
निर्मला पन्तका हत्यारालाई कार्वाही गर्न सदनदेखि सडकसम्म विरोध भयो । सरकारलाई दबाब भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत आन्दोलनकारीको आलोचना गरे । तर ५४ दिनमा बल्ल आएर निर्मलाको अभिभावक भएको बताए ।
देश विदेशमा नेपालीले बलात्कारी र हत्यारालाइृ कार्वाहीको माग गरे । निर्मलापछि ५८ जना बलात्कृत भएका घटना बाहिर आएका छन् । कार्वाही शून्य छ ।
निर्मला हत्यापछि कार्वाहीको माग गर्दै कञ्चनपुरमा भएको आन्दोलन दबाउन प्रहरीले ट्रिगर दबायो । एक जनाको मृत्यु भयो भने एक जना गम्भीर छन् । दुई दर्जन आन्दोलनकारी घाइते छन् ।