काठमाडौँ । सामाजिक सञ्जाल सगुन डट कम(
sagoon.com)को टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी नेपालमा सार्वजनिक हुन लागेको दोस्रो संस्करणबारे जानकारी गराएको छ । सगुनका संस्थापक गोविन्द गिरी र सहसंस्थापक कवीन्द्र सिटौलासहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री निवास बालुवाटारमा पुगी यही कात्तिक २२ गते सार्वजनिक हुने सगुनको दोस्रो संस्करणको जानकारी गराएको हो ।
उक्त अवसरमा प्रधानमन्त्री ओलीले सूचना प्रविधिको प्रयोग गरेर अन्य मुलुकले सफलता हासिल गरिरहेका सन्दर्भमा सगुन नेपालको आर्थिक समृद्धिमा सहयोगसिद्ध हुने विश्वास व्यक्त गर्दै नेपालीले प्रविधिका क्षेत्रमा भएको सराहनीय अभियानलाई सहयोग गरिने बताए ।
संस्थापक गिरीले सूचना प्रविधिको प्रयोगका कारण विभिन्न मुलुकले आर्थिक सफलता हासिल गरिरहेको अवस्थामा नेपालले पनि फाइदा लिन सक्ने हुनाले सरकारलाई सहकार्यका लागि आग्रह गरे । टोलीमा चर्चित हाँस्य कलाकार जोडी सिताराम कट्टेल ‘धुमुर्स’, कुञ्जना घिमिरे ‘सुन्तली’लगायत थिए ।
सगुन अघिल्लो वर्ष अमेरिकामा स्थापना भएको सामाजिक सञ्जाल हो । गुगल नामक सामाजिक सञ्जालको प्रतिस्पर्धी रुपमा रहेको सो सञ्जाल नेपाली प्राविधिकको आफ्नै प्रयासबाट स्थापना भएको हो । करिब दुई लाख प्रयोगकर्ता रहेको सो सञ्जाल अहिले डेस्कटप एप्लिकेसनमा प्रयोग गर्न सकिन्छ भने आगामी सन् २०१६ को सुरुआततिर मोबाइलमा पनि सहज रुपमा प्रयोग गर्नेगरी तयारी भइरहेको छ । रासस