काठमाडौं। सामान्य प्रशासन मन्त्री रेखा शर्माले जनताले भोगेको पछिल्लो कष्ट छिटो भन्दा छिटो अन्त्य गर्न सरकारले पहल गरी रहेको बताउनु भएको छ। मन्त्री रेखा शर्माले सरकारले कुटनीतिक पहलसंगै दीर्घकालिन समाधानका उपाय र बिकल्पका बारेमा समेत गम्भिर छलफल गरिहेको जानकारी दिनुभएको हो ।
नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको स्मारिका लोकपर्ण एंव रक्तदाताहरुलाई गरिएको सम्मान कार्यक्रममा बोल्दै आन्दोलनकारी दलसंग वार्ताका लागि गठित सरकारी बार्ता टोलीका सदस्य समेत रहेकि मन्त्री शर्माले सरकार सार्थक वार्ता मार्फत समस्या समाधानका लागि प्रतिवद्ध रहेको पनि बताउनुभयो। कार्यक्रममा मन्त्री शर्माले नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाले गरेको परोपकारी कार्यको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष अनिता बिन्दु, नेपाल सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा, बरिष्ठ लोक सर्जक एवं चलचित्र निर्देशक नारायण रायमाझी, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी र संगीतकार संघका महासचिव महेश खडकाले संस्थाले गरेका कामबाट आफूहरु प्रभावित भएको बताउनुभयो।
संस्थाका आजिवन सदस्य पत्रकार लोकराज अधिकारीले सहजिकरण गरेको कार्यक्रममा हिजो राजधानीमा गरिएको रक्तदान कार्यक्रमका रक्तदाताहरुलाई सम्मान गरिएको थियो। त्यसैगरी संस्थाले संचालन गरेको परोपकारी अक्षयकोषमा रकम सहयोग गरी आजिवन सदस्यता लिने सदस्यहरु सुदीप कुमार रेग्मी, शानु श्रेष्ठ लगाएतलाई प्रमुख अतिथि मन्त्री शर्माले सम्मान सहित प्रमाण पत्र हस्तान्तरण गर्नु भएको थियो ।
संस्थाका सचिव रामजी शर्माको सभापतित्वमा भएको कार्यक्रममा प्रस्तोता समाज नेपालका सदस्य गायक तथा संगीतकार नरहरी प्रेमी र बाल गायीका अवान्तिका बोगटीले गीत गाउनु भएको थियो।
नेपाल भित्र र रोजगारीको शिलशिलामा बिदेशमा रहेका नेपालीहरु आबद्ध संस्थाले पहिरो पीडित, भुकम्प पीडित, अग्नी पीडित, मृगौला पीडित, असहाय बाल बालिकाको पठन पाठनमा सहयोग, लगातका बिभिन्न परोपकारी काम गर्दै आइरहेको छ।