arrow

चिनियाँ बजार अझ खुला गर्ने राष्ट्रपति सीको प्रतिबद्धता

logo
एएफपी,
प्रकाशित २०७५ कार्तिक १९ सोमबार
xi-china-president.jpg

साङ्घाइ। राष्ट्रपति सी जिनपिङले चिनियाँ बजारको पहुँचलाई खुला गर्ने सोमबार प्रतिबद्धता व्यक्त गरेका छन्। ठूला अर्थतन्त्र भएका विदेशी सरकारहरुले चीनले प्रतिबद्धता व्यक्त गरेबमोजिम सुधारका कदमहरु नचालेको आरोप लागिरहेको समयमा राष्ट्रपति सीको यस्तो प्रतिबद्धता आएको हो।

राष्ट्रपति सीले चीनले आयातित वस्तुको घरेलु उपभोगमा मद्दत गर्ने, करलाई न्यूनीकरण गर्ने, भन्सार जाँचपास कार्यविधिलाई सहज बनाउने तथा बौद्धिक सम्पत्तिको उल्लङ्घन गर्नेविरुद्ध कडा कारबाही गर्ने बताए।

“हामी विश्वस्तरीय व्यावसायिक वातावरण निर्माण गर्नेछौं,” साङ्घाइमा आयोजित आयात मेलामा सम्बोधन गर्दै राष्ट्रपति सीले उक्त भनाइ राखेका हुन्।

उनले विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएका दुई मुलुक चीन र अमेरिकाबीचको व्यापार युद्धले विश्व अर्थव्यवस्थामा समस्या निम्त्याउने खतरा रहेको समेत औंल्याए। राष्ट्रपति सीले अमेरिकी राष्ट्रपतिको नाम नलिई राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण विश्व खुला व्यापारमा समस्या आइरहेको बताए।

राष्ट्रपति सीले अमेरिकी संरक्षणवाद, पृथकतावाद र झगडालू प्रवृत्तिको आलोचना गर्दै अरुको घरमा आक्रमण गर्नुअघि आफ्नै घरभित्रका समस्या सुल्झाउनुपर्नेमा जोड दिए। “आफ्ना समस्या ढाकछोप गर्न अरुमाथि औंला ठड्याउनु ठीक होइन,” राष्ट्रपति सीले भने।

बेइजिङले पहिलो वार्षिक चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोलाई खुला बजारप्रतिको प्रतिबद्धताको एक सङ्केतका रुपमा लिएको छ। दुवै देशले एकअर्का मुलुकका उत्पादनमाथि करवृद्धि गरेका कारण व्यापारिक तनाव शिखरमा पुगेको छ।

साङ्घाइ एक्स्पोमा जेनेरल मोटर्स, फोर्ड, माइक्रोसफ्ट, सामसुङ, वाल्मार्ट र टेस्ला समेतका कम्पनीहरुले भाग लिएका छन्। आयोजकहरुले संयुक्तराज्य अमेरिका, युरोप र एसियाली क्षेत्र समेतका १३० मुलुकका तीन हजारभन्दा बढी विदेशी कम्पनीका सामग्री प्रदर्शनीमा राखिएको बताएका छन्।

प्रदर्शनीमा रसियाका प्रधानमन्त्री दिमित्री मेडभेडेभ र पाकिस्तानका प्रधानमन्त्री इमरान खान समेतका विभिन्न देशका सरकार प्रमुखहरु पनि सहभागी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ