लायन विमान दुर्घटनाः मृतकको खोजीकार्य बन्द, राहत वितरण शुरु
प्रकाशित २०७५ कार्तिक २४ शनिबार
459
Shares
जकार्ता, इन्डोनेसिया । दुई हप्ता पहिले दुर्घटनाग्रस्त लायन एअरको विमानमा परेका यात्रुहरूको खोजी शनिबारदेखि रोकिएको इन्डोनेसियाले जनाएको छ ।
अक्टोबर २९मा इन्डोनेसियाको जाभा समुद्रिक आकाशमा दुर्घटनापछि समुद्रमा खसेको अनुमान गरिएको ७३७–एमएएक्स–८ मा यात्रारत चालक दलका सदस्यसहित १८९ जनाको खोजी शनिबारपछि रोकिएको खोजी तथा उद्धार समूहका प्रमुख मुहम्मद स्यायुगीले सञ्चारकर्मीलाई बताए ।
विगत ४८ घण्टाको अन्तरालमा मृत शरीरका कुनै सङ्केत नभेटेको र दुई हप्तासम्म विमान दुर्घटनाबाट समूद्रमा जीबित रहनसक्ने सम्भावना नरहेकोले मृतकको खोजी कार्य रोकिएको छ, स्यायुगीले सञ्चारकर्मीसँग बताए ।
“उद्धारका क्रममा मृतकका शरिरका विभिन्न १९६ नमूनाहरू भेटिएको र तीमध्ये ७९ जनाको शरिर पहिचान भै अन्तिम संस्कारका लागि पीडितका आफन्तहरूलाई बुझाइएको छ,”उनले थपे ।
“दुर्घटना भएको केही समयभित्रैदेखि उद्धार शुरू गरेको र जिम्मेवारी अनुसार काम गरेको जानकाी गराउन चाहन्छौं । हामीले पीडितका परिवारलाई सेवाबाट सन्तुष्ट बनाउन नसकेको भए क्षमा माग्दै अब मृत शरिरको खोजी रोक्ने निर्णय गरेका छौँ ।”
मृतकका आफन्तलाई क्षतिपूर्तिस्वरूप प्रदान गराउने गरी घोषणा गरेको रकम शनिबार उप्रान्त वितरण गरिने लायन एअर कम्पनीले जनाएको छ ।
इन्डोनेसियाली राष्ट्रिय यातायात सुरक्षा समितिले अहिलेसम्म एउटा ब्लाक बक्स रडाटा रेकर्डर फेला पारेको र ककपिट भ्वाइस रेकर्डरको खोजी जारी रहेको जनाएको छ । रासस