arrow

फ्लोरिडामा पुनः मतगणना, तनाव सिर्जना

logo
एपी,
प्रकाशित २०७५ कार्तिक २५ आइतबार
Florida.jpg

टाल्लाहास्सी, फ्लान्डर्स। संयुक्तराज्य अमेरिकाको फ्लोरिडा राज्यको सिनेट र गभर्नरको मतगणनाको नतिजा सार्वजनिक भए पनि यहाँ पुनः मतगणना जारी छ। अमेरिकी मध्यावधि निर्वाचनमा निकै महत्वका साथ हेरिएको फ्लोरिडाको चुनावमा धाँधली भएको डेमोक्र्याट्स पार्टीले आरोप लगाएको छ। फ्लोरिडाको सिनेट र गभर्नरका दुई महत्वपूर्ण पदमा रिपब्लीकन पार्टीका उम्मेदवारहरु झिनो मतान्तरबाट विजयी भएका थिए।

मियामी–डेड काउन्टीका निर्वाचन पदाधिकारीहरुले शनिबार साँझदेखि मतपत्र स्क्यानिङ गर्न थालिसकेका छन्। दक्षिण फ्लोरिडा काउन्टीमा खसेको आठ लाख मत स्क्यानिङ गर्न केही दिन लाग्नेछ। अमेरिकाकै तेस्रो ज्यादै ठूलो जनसंख्या रहेको फ्लोरिडा राज्यमा त्यस्ता ६७ वटा काउन्टी छन्।

फ्लोरिडाका विदेश मामिला मन्त्रीले शनिबार यो मतपत्र गणना गर्न आदेश दिएका थिए। यही राज्यमा सन् २००० को राष्ट्रपतीय निर्वाचनमा समेत अन्तिम नतिजा सार्वजनिक गर्न पाँच हप्ता लागेको थियो।

फ्लोरिडाका ६७ वटा काउन्टीको पुनः मतगणना कहिले सकिन्छ भन्न सकिन्न, तर आगामी बिहीबारसम्म यो कार्य सम्पन्न गरिसक्नु पर्ने निर्वाचन संहितामा उल्लेख छ। टाम्पा बे क्षेत्रका दुई ठूला काउन्टीहरु पाइनल्यास र हिल्सबरोका निर्वाचन अधिकृतहरुले आइतबार बिहानदेखि पुनः मतगणना गर्ने जनाएका छन्।

अनौपचारिक परिणामहरुले रिपब्लीकन पार्टीका तर्फबाट उम्मेदवार बनेका रोन डेसान्टीसले डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बनेका टाल्लाहासका मेयर एन्ड्रु जिलमलाई शून्य दशमलब ५ प्रतिशतभन्दा कम मतान्तरले हराएको देखाएका छन्। सिनेटमा पनि रिपब्लीकनका गभर्नर उम्मेदवार रिक स्कटले डेमोक्र्याटिक पार्टीका बिल नेल्सनलाई शून्य दशमलब २५ प्रतिशतले पराजित गरेका छन्।

राजनीतिक तनावको पृष्ठभूमिमा यो पुनः मतणना हुन लागेको हो। राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै प्रमाण बेगर नै शनिबार ट्वीट गर्दै निर्वाचनमा धाँधली भएको बताएका छन्। शनिबार ब्रोवार्ड काउन्टीमा भेला भएका प्रदर्शनकारीहरुले विभिन्न साङ्केतिक चिन्ह र भाषा प्रयोग गरी चुनावमा धाँधली भएको जनाएका छन्।

पुनः मतगणनाको घोषणा भएलगत्तै जिलमले गभर्नरमा पराजित भएको यसअघिको स्वीकारोक्ती फिर्ता लिनुभएको छ। उनले भने, “स्पष्ट रुपमा भनौं, म यो पुनः मतगणनाबाट खुशी छु, अब जेजस्तो परिणाम आउँछ त्यसलाई म स्वीकार गर्नेछु।”

अनौपचारिक रुपमा विजयी घोषित डिसान्टीसले भिडियो सन्देशमा निर्वाचनको मतगणनाको नतिजा स्पष्ट रहेको र त्यसमा कुनै द्विविधा नरहेको दाबी गरेका छन्। उनले आफू नै राज्यको गभर्नर रहेको र त्यसको तयारीमा आफू लागिसकेको बताएका छन्। उहाँले निर्वाचनका सबै प्रक्रियामा अहोरात्र खटिएर कार्य गर्नेहरुप्रति धन्यवाद पनि दिए।

सिनेटमा विजयी घोषित स्कट र राष्ट्रपति डोनाल्ड ट्रम्प समेतका उहाँका समर्थकहरुले डेमोक्र्याटिक पार्टीतर्फ झुकाव भएको ब्रोवार्ड काउन्टीमा चुनावमा धाँधली भएको आरोप लगाएका छन्। यो काउन्टीमा रिपब्लीकनको झिनो अग्रता मात्र थियो। मतदाता नामावलीमा कुनै गडबडी भएको कुनै प्रमाण भने भेटिएका छैनन्।

फ्लोरिडाको कानुन कार्यान्वयन विभागले शुक्रबार निर्वाचनमा धाँधली भएको सम्बन्धी कुनै छानबिन अगाडि नबढाएको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ