arrow

भारतको छत्तीसगढ राज्यको मतदानमा एक लाख सुरक्षाकर्मी परिचालन

logo
एएफपी,
प्रकाशित २०७५ कार्तिक २६ सोमबार
chhattisgarh-india.jpg

रायपुर। भारतको छत्तीसगढमा मतदानको सुरक्षार्थ करिब एक लाख सुरक्षाकर्मी तैनाथ गरिएको समाचार छ। सोमबारको सो मतदानका लागि यति ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको हो। छत्तीसगढ भारतमा माओवादीहरुको हिंसाबाट सबैभन्दा बढी प्रभावित राज्य हो। सो राज्यमा भारतीय माओवादीहरुले सशस्त्र हिंसात्मक गतिविधि गरिरहेका छन्।

यसै निर्वाचनलाई केन्द्रित गरेर माओवादीहरुले पनि यस हप्ता ठाउँठाउँमा हिंसात्मक हमला जारी राखेका छन्। ती हमलाहरुमा परी पछिल्लो हप्तामात्र १३ जनाको हत्या भएको छ।

मतदानको केही घन्टामात्र अघि आइतबार माओवादी सशस्त्र हतियारधारीहरुले गरेको सशस्त्र आक्रमणमा परी कम्तीमा एकजना प्रहरी अधिकृतको ज्यान गएको थियो भने अरु केही घाइते भएका थिए। छत्तीसगढ राज्यको कन्कार जिल्लामा यस्तो हमला गरेका थिए। उनीहरुको यस्तो हमलापछि सो जिल्लामा पनि सुरक्षाको कडा प्रबन्ध अपनाइएको प्रहरीले जानकारी दिएको छ।

यहाँका माओवादीहरुले स्थानीय गरिब नागरिकको भूमिको अधिकार र जातीय अधिकारका लागि सशस्त्र विद्रोह गरिरहेको बताउने गरेका छन्। उनीहरुले सोमबारको मतदान बहिस्कार गर्न यस राज्यका मतदाताहरुलाई आग्रह पनि गरेका छन्।

आगामी वर्ष सन् २०१९ मा भारतमा आमनिर्वाचन हुँदैछ। तर त्यस अगाडिको भारतको स्थानीय स्तरको यो निर्वाचन यस महिनामात्र पाँच राज्यमा हुँदैछ।

दोस्रो चरणको निर्वाचन यही नोभेम्बर २० मा हुँदैछ। यो दोस्रो चरणको निर्वाचन अघि पनि माओवादीहरुले हिंसा मच्चाउन सक्ने प्रहरीको अनुमान छ।

यो पहिलो चरणको निर्वाचनमा आवश्यक मात्रामा सुरक्षाको प्रबन्ध गर्नलाई करिब एक लाख जना सुरक्षाकर्मी खटाइएको छ। यहाँका एकजना वरिष्ट प्रहरी अधिकारी डि एम अवस्थीले बताए। उनका अनुसार यसरी खटाइएका सुरक्षाकर्मीहरुमा भारतीय केन्द्रीय सेना पनि रहेका छन्।

ती मतदान क्षेत्रमा माओवादीहरुले वारुदी सुरङ बिछ्याउने गरेका छन्। यस राज्यका केही प्रभावित क्षेत्रमा यस्ता सुरुङहरु बिछ्याउने काम सामान्यजस्तै हो। त्यसैले कतिपय निर्वाचन अधिकारीहरुलाई हेलिकोप्टरबाट मतदानस्थलमा पुर्‍याउने गरिएको पनि प्रहरी अधिकारीहरुको भनाई छ।

यस राज्यको सरकारमा गएको १५ वर्षदेखि भारतीय जनता पार्टीको नेतृत्व रहेको छ। भारतीय जनता पार्टीका यस राज्यका मुख्यमन्त्री रमन सिंह तीन कार्यकालसम्म मुख्यमन्त्रीमै रही आएका छन्। उनले अबको कार्यकाल अथवा चौथो कार्यकालका लागि पनि आफू नै मुख्यमन्त्री हुने दाबी गरेका छन्।

तर माओवादीहरुले भने उनको विरोध गरेका छन्। उनीहरुले मुख्यमन्त्री सिंहलाई राज्यको विकास गर्न नसकेको आरोप विगत लामो समयदेखि लगाउँदै आएका छन्। भारतमा सशस्त्र विद्रोह गरिरहेका माओवादीहरु त्यहाँका १० भन्दा बढी जिल्लामा रहेको मानिएको छ। तर पनि उनीहरु छत्तीसगढ, उडिसा, बिहार, झारखण्ड र महाराष्ट्रमा पनि ठूलो संख्यामा छन्। झारखण्डमा मात्र करिब एक करोड ५० लाख जनसंख्या रहेको छ।

भारतका अरु राज्यको तुलनामा यी राज्यहरुमा बढी मात्रामा गरिबी रहेको मानिन्छ। तर माओवादीहरुले भने करिब पाँच दशक अघिदेखि भारतको बंगालबाट विद्रोह शुरु गरेका हुन्। यस विद्रोहका कारण कम्तीमा पनि दश हजार नागरिकको ज्यान गइसकेको बताइन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ