काठमाडौं । उत्तर कोरिया पछिल्लो समय परमाणु हतियारको अभियानबाट पछि हटेको बताउँदै आएको छ । यद्यपि वास्तविकतामा भने उसको मिसाइल कार्यक्रमहरु जारी रहेको देखिएको छ । स्याटेलाइटले देखाएको नयाँ तस्वीरले उत्तर कोरिया विभिन्न १६ मिसाइल बेसबाट आफ्नो कार्यक्रम अघि बढाइरहेको देखाएको हो ।
अहिले सार्वजनिक भएको तस्वीरबाट उत्तर कोरिया अहिले ठुलो परमाणु हतियारको कार्यक्रममा जुटेको देखिएको हो । उत्तर कोरियाले परमाणु निशस्त्रीकरणमा प्रतिबद्धता जनाउँदै एक मिसाइल परीक्षण गर्ने साइट ध्वस्त पारेको थियो । यद्यपि त्यसको बदलामा एक दर्जन नयाँ साइटहरु निर्माण भइरहेको न्युयोर्क टाइम्सको विवरणमा उल्लेख गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उत्तर कोरिया निशस्त्रीकरणको लागि अघि बढिहरहेको बताउँदै आएका छन् । गत बुधबार उत्तर कोरियासँगको वार्ताको विषयलाई लिएर ट्रम्पले आफूहरु हतार गर्ने पक्षमा नरहेको बताएका थिए ।
उनले मिसाइल, रकेटमा रोक लागेको र प्रतिबन्ध पनि जारी रहेको बताएका थिए । यद्यपि उत्तर कोरियाले गोप्यरुपमा मिसाइल बेस बनाइरहेको पाइएको हो ।
यसअघि उत्तर कोरियाले मिसाइलको माध्यमबाट अमेरिकालाई ध्वस्त बनाउने धम्की दिँदै आएको थियो । सिँगापुरमा अमेरिकी राष्ट्रपति र उत्तर कोरियन सर्वोच्च नेताको बीचमा भएको भेटपछि भने दुई मुलुकको सम्बन्धमा केही सुधार आएको हो ।
यसअघि पनि उत्तर कोरियाले मिसाइल कार्यक्रम अघि बढाइरहेको विवरणहरु सार्वजनिक गरिएको भए पनि यस विषयमा अहिलेसम्म कुनै प्रमाण भने भेटिएको छैन ।