arrow

कास्कीमा १२ करोड भारतीय सहयोगमा निर्मित ३ भवनको उद्घाटन

logo
प्रकाशित २०७५ मंसिर १ शनिबार
india-flag.jpeg

कास्की। भारत सरकारको सहयोगमा निर्मित ३ विद्यालय तथा क्याम्पस भवनको पोखरामा उद्घाटन भएको छ। करिव साँढे १२ करोड खर्च गरेर निर्माण गरिएका भवनहरुको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारी र भारतीय दूतावासका मिशन उपप्रमुख डा अजय कुमारले उद्घाटन गरे। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले लेखनाथ नगरपालिकास्थित सरस्वती टिका उच्च माध्यमिक विद्यालयको उद्घाटन गरे भने डा अजय कुमारले लक्ष्मी आदर्श महुमुखी क्याम्पस र गुप्तेश्वर महादेव महुमुखी क्याम्पसको उद्घाटन गरे।

सरस्वती टिका उच्च माध्यमिक विद्यालय ३ करोड ७१ लाख नेपाली रुपैँया बराबरको भारतीय सहयोगमा निर्माण गरिएको हो।  राष्ट्रिय परिक्षा बोर्डसँग आबद्ध उक्त विद्यालयले १०ं जोड २ तहका विभिन्न कार्यक्रम प्रदान गर्दै आएको छ। विद्यालयमा अध्ययनरत झण्डै ११ सय विद्यार्थी अध्ययनरत रहेका मध्ये ४५ प्रतिशत छात्रा छन्। 

भारत सरकारकै ४ करोड ८४ लाख सहयोगमा निर्मित लक्ष्मी आदर्श बहुमुखी क्याम्पस त्रिभुवन विश्वविद्यालयसँग आबद्ध रहेको छ। क्याम्पसले शिक्षा संकायमा स्नातक तहसम्म चार वर्षे पूर्णकालिन कार्यक्रम एवं १० जोड २ तहमा व्यवस्थापन, शिक्षा र मानविकी संकायमा पनि सेवा प्रदान गर्दै आएको छ। क्याम्पसमा ४ सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् जसमध्ये ८५ प्रतिशत छात्रा रहेका छन् । 

त्यसैगरि ४ करोड ११ लाख रुपैयाँ बराबरको भारतीय सहयोगमा निर्माण भएको गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस त्रिभुवन विश्वविद्यालयसँग आबद्ध रहेको गैरनाफामूलक प्राज्ञिक संस्था हो। बिएड, बिबिएस र एमबिएस संकायमा सेवा प्रदान गर्दै आएको क्याम्पसले सन् २०१८को शैक्षिक सत्रदेखि बिएचएम र बिआईएम संकायमा पनि अध्यापन शुरु गरेको छ। यस क्याम्पसमा ४ सय १८ जना विद्यार्थी अध्ययनरत छन् जसमध्ये ८० प्रतिशत छात्रा रहेका छन् । 

नवनिर्मित संरचनाहरु सभा हल, कम्प्युटर ल्याब, पुस्तकालय समेत निर्माण भएको छ। विद्यार्थीका लागि अध्ययन गर्ने वातावरणलाई नयाँ संरचनाले थप सहज बनाउने विश्वास स्थानियको छ। क्याम्पस तथा विद्यालय भवनको निर्माणले कास्की, स्याङजा, पर्वत, म्याग्दी र तनहुँ जिल्लाका थुप्रै विद्यार्थीका लागि शिक्षाको पहुँच पनि सुनिश्चित गर्ने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ