नेविसंघ विधान आज केन्द्रिय समितिमा पेश हुँदै : पौडेल, सिटौला, सिंह र केसीको मागमा देउवा ब्याक
सुजिता गौतम,
प्रकाशित २०७५ मंसिर २ आइतबार
478
Shares
काठमाडौं। नेपाल विद्यार्थी संघले माउपार्टी कांग्रेसलाई बुझाएको विधान जस्ताको तस्तै आज कांग्रसको केन्द्रिय समिति बैठकमा पेश हुने भएको छ।
गत २१ असोजको केन्द्रिय समिति बैठकमा नेविसंघले बुझाएको विधानलाई एकातिर थन्काएर ३२ वर्षे उमेर हद सहितको विधान केन्द्रिय समिति बैठकमा प्रस्तुत गरिएको थियो। सो विधानलाई उमेरहद कायम गरेर पार्टी नेतृत्वले बहुमतले पारित समेत गरेको थियो।
तर सोही दिनको बैठकको निर्णयमा असहमती राख्दै वरिष्ठ नेता रामचन्द्र पौडेल सहितका चार शिर्ष नेताहरुले ‘नोट अफ डिसेन्ट’ लेखेर बाहिरिएका थिए। त्यसपछि नेविसंघका विषयमा पार्टी भित्र विवाद देखिदैं आएको थियो।
तर हिजोको केन्द्रिय समिति बैठकमा भने सभापति शेरबहादुर देउवा आफूले बहुमतबाट पारित गरेको नेविसंघ विधानलाई फेरी व्याक गराएर छलफलमा ल्याउन सहमत भएका छन।
उनले आज बस्ने बैठकमा नेविसंघले पठाएको विधान जस्ताको तस्तै ल्याउन सहमहामन्त्री समेत रहेका प्रकाशसरण महतलाई निर्देशन दिएका हुन। यो सँगै अब संस्थापन इतर समूहमा रहेका चार नेताको ‘नोट अफ डिसेन्ट’ सम्बोधन हुने भएको हो। तर विधानमा ३२ वर्षे उमेर हदका विषयमा भने सबै जसो नेताहरु सहमत भएका छन।
आज २ बजेका लागि बोलाइएको बैठकमा नेविसंघले पठाएको विधान पेश हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। ‘आजको बैठकमा नेविसंघले पठाएको विधान पेश हुन्छ, हिजो नै नेताहरु बीच सो विषयमा सहमती जुटेको छ, आजै नेविसंघका विषयमा समेत के गरी अघि बढ्ने भन्ने निर्णय हुन्छ,’ प्रवक्ता शर्माले भने।
एक नेताका अनुसार आइतबारको बैठकले उमेर हदलाई भने पास गर्ने छ। यस्तै आजको बैठकले वर्तमान नेविसंको निर्वाचित कार्य समितिलाई नै आगामी स्ववियू निर्वाचनसम्म समय दिएर निर्वाचन आयोजक समितिका रुपमा रुपान्तरण गर्ने सम्भावना छ।