काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ लामो समयदेखि विवादित छ । अहिलेको विवाद उमेर हदको हो र त्यसमै कुरा मिल्न नसक्दा महाधिवेशन गर्ने टुंगो नै लाग्न सकेको छैन ।
नेविसंघको केन्द्रीय कार्यसमितिको समयावधि आइतबार बेलुका सकिँदै गर्दा त्यसअघि नै काँग्रेसले समय लम्बाएरै भए पनि तत्काल समस्याको समाधान गर्दैछ । तर त्यसका लािग चुनौती भने धेरै छन् ।
विधान मै संसोधन गरेर २ वर्षे कार्यकाललाई परिस्थिति अनुसार तीन महिना थप्न पाउने व्यवस्थामा थप दुई महिना थपेर चुनाव गराउन लगाउने योजनामा काँग्रेस नेतृत्व छ ।
यदि यसो भए आगामी माघ २ सम्म समय लम्बिने छ र त्यस अविधिभित्र चुनावी महाधिवेशन गर्नुपर्नेछ ।
नेविसंघको समस्या एकैपटक देखिएको भने हैन । नेविसंघका पूर्व अध्यक्ष एवं नेपाली काँग्रेसका वर्तमान प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो पालापछि नेविसंघ खस्किएको दावी गर्छन् ।
उनले आफ्नो इमानदारी प्रस्तुत गर्दै भने ‘मैले दुई वर्षको पहिलो तीन सय ६५ दिन सकिएर दोस्रो वर्षको तीन सय ६५ औं दिन निर्वाचन गरेर पदस्थापन गरेको थिए । सिस्टम बस्ने कुरा त निरन्तरको प्रयत्नले बस्छ ।’
शर्मापछि नेविसंघमा विकृति बढ्न थाल्यो । शर्माले छाडेपछि अर्को नेतृत्व आयो । त्यसको विकृति केही देखियो । अर्को नेतृत्व आयो उसले पनि विकृति छर्यो । एकै कार्यकाल वा एक दिन नेविसंघ बिग्रिएको भने हैन ।
शर्माले भने, ‘विवाद भएपछि त्यसलाई सकारात्मक ढंगले लिनुपर्ने र त्यसबाट पाठ सिक्नुपर्छ । अहिले पनि त्यो पाठ सिक्ने हो भने यसको समाधान हुन्छ र नेविसंघ सही मार्गमा आउँछ ।
‘के सिक्ने भन्ने कुरा हुन्छ’ भन्दै शर्माले ‘के भयो र यसो गर्दा प्रतिफल के हुन्छ भनेर सोच्न जरुरी छ तबमात्र समाधान हुन्छ ।’