arrow

ककनीमा कांग्रेस जिल्ला सभापतिहरुको ककस

logo
प्रकाशित २०७५ मंसिर ३ सोमबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं । नेपाली काँग्रेसभित्र अहिले मंसिर २८ गतेदेखि हुने महासमिति बैठकका लागि राजनीतिक प्रस्ताव संकलन गर्ने क्रम चलिरहेको छ । जिल्ला, प्रदेश र केन्द्रमा विभिन्न छलफल चलिरहँदा जिल्ला सभापतिहरु पनि एक ठाउँमा भेला हुँदैछन् । 

शीर्ष नेताहरु प्रदेशहरुमा गएर प्रस्ताव संकलनसंगै आफ्नो पक्षमा माहोल बनाइरहँदा जिल्ला सभापतिहरु नुवाकोटको ककनीमा भेला हुन लागेका हुन् । 

मंसिर १२ र १३ गते हुने यो भेलामा ७७ वटै जिल्लाका जिल्ला सभापतिहरु उपस्थित हुने नुवाकोट जिल्ला सभापति जगदीश नरसिंह केसीले बताए । 

उनले काँग्रेस जिल्ला सभापतिहरुबाट महासमितिमा विधान मस्यौदा समितिले सुझावसहितको विधान मस्यौदा प्रस्तुत गर्दै गर्दा जिल्ला सभापतिहरुले समान धारणा बनाउन ककनीमा बस्न लागेको बताए । 

आन्तरिक रुपले सभापतिले दिने सुझाव महत्वपूर्ण हुने गर्छ । ७७ वटै जिल्लाका सभापतिहरुको भेला बस्दा त्यसले दिने सन्देश पनि महासमितिमा ठूलै हुनेछ । 

महासमिति अगाडिको सबैभन्दा ठूलो भेला 
यो भेला महासमिति बैठक अगाडिको सबैभन्दा ठूलो भेला हुनेछ । यसअघि विभिन्न गुट उपगुटका भेला पनि बसेकै हुन् । त्यसैगरी प्रदेशमा रहने जिल्ला सभापतिका भेला पनि बसेका छन् । ती भेलालाई थाँती राखेर यो वृहत भेला हुन लागेको हो । 

हेटौंडामा गत असार ५ गते बसेको जिल्ला सभापतिहरुको भेलापछि यो भेलालाई विशेष रुपमा लिइएको छ । यो भेलाले गुटउपगुटको चक्रलाई रोक्दै परेका बेलामा एकजुट हुनुपर्छ भन्ने सन्देश दिने देखिन्छ ।

नुवाकोट जिल्ला सभापति केसीले भने ‘गुट उपगुट केन्द्रमा भए पनि हामीहरु आपसमा छलफल गरेर ककनीमा भेला बसौं भन्ने भयो त्यसपछि एकजुट भएर एउटै प्रस्ताव लैजाने भनेर जुट्न थालेका छौं ।’ 

ककनीमा कांग्रेस जिल्ला सभापतिहरुको ककस चल्दै गर्दा महासमितिमा कसलाई सकस पर्ने हो त्यो समीकरण रोमाञ्चक हुनेछ । जिल्ला सभापतिहरुमा पार्टी सभापति देउवा इतर माहोल बढी छ । यसले पनि समीकरणमा पक्कै तरंग ल्याउने छ । 

विधान मस्यौदा समितिले समेत एउटै मतबाट विधानका बुँदाहरुलाई समेट्न नसकिरहेका बेलामा ककनी भेलाले नयाँ सन्देश दिनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ