arrow

सरकार वार्तामा बस्न तयार : यमनी अधिकारी

logo
एएफपी,
प्रकाशित २०७५ मंसिर ३ सोमबार
yeman.jpg

दुबई। यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले वार्तामा बस्न तयार रहेको सोमबार घोषणा गरेको छ। संयुक्त राष्ट्रसंघका प्रतिनिधि मार्टिन ग्रिफिथलाई हुथी विद्रोहीसँगको वार्तामा सहभागी हुने खबर सरकारी पक्षले पठाइएको हो।

मुलुकमा शान्ति स्थापनाका लागि आफुहरु वार्तामा बस्न तयार भएको सरकारी अधिकारीहरूको भनाइ रहेको छ। राष्ट्रसंघीय प्रतिनिधि ग्रिफिथले स्वीडेनमा वार्ता गर्ने पहल गर्दै आउनु भएको छ। उनको पहल अनुसार अव सरकारी पक्षले वार्ता टोली स्वीडेन पठाउने भएको छ।

“वार्तामा सहभागी हुनेबारेमा हामीले राष्ट्रसंघीय प्रतिनिधिलाई जानकारी गराएका छौँ, अव सरकारका प्रतिनिधिहरु वार्ताका लागि स्वीडन जानुहुनेछ,” विदेश मन्त्रालयले भनेको छ। अहिलेको राजनीतिक संकट समाधान गरी मुलुकमा शान्ति स्थापनाका लागि वार्तामा सहभागी हुन लागेको विदेश मन्त्रालयलाई उद्धृत गर्दै साबा समाचार संस्थाले जनाएको छ।

हुथी विद्रोही र यमन सरकारबीच शान्तिवार्ता गराउन आवश्यक तयारी गरी वातावरण बनाउन राष्ट्रसंघीय प्रतिनिधि ग्रिफिथ केही दिनमै यमनको राजधानी जानुहुने अपेक्षा गरिएको छ। उनले यमनको भ्रमण गर्न लागेको पूर्वसन्ध्यामा यसअघि हुथी विद्रोहीले विभिन्न आक्रमणहरु रोक्ने घोषणा गरेको छ।

यमनमा सङ्घर्षरत हुथी विद्रोही समूहका एकजना उच्च नेताले यमनमा क्षेप्यास्त्र आक्रमण र ड्रोनबाट हुने आक्रमण स्थगित गर्ने घोषणा गरेका हुन्।सर्वोच्च क्रान्तिकारी समितिका प्रमुख मोहम्मद अलि अल–हुथीले ट्वीट गरी सबै आधिकारिक यमनी राजनीतिक दलहरूलाई युद्धविराम गर्न आग्रह गरेका थिए।

“हामी यमनका सबै आधिकारिक दलहरूलाई अतिक्रमणकारी देशविरुद्ध र उनीहरूका यमनी समर्थकमाथि रकेट आक्रमण र ड्रोनको प्रयोग रोक्न आग्रह गर्दछौं ताकि उनीहरुले हामीमाथि आक्रमणको कुनै आधार पाउने छैनन्। शान्ति स्थापनाको तत्परता प्रस्तुत गर्न सबै मोर्चामा सैनिक आक्रमण रोक्न पनि आग्रह गर्दछौं,” उनले लेखेका छन्।

राष्ट्रसंघका विशेषदूत ग्रिफिथले शुक्रबार मात्र अर्को साता विद्रोहीको नियन्त्रणमा रहेको सानाको भ्रमण गर्ने जानकारीमा आएलगत्तै हुथी नेताको युद्धविराम गर्ने घोषणा सार्वजनिक भएको हो। सेप्टेम्बरमा पनि स्वीडेनमा शान्तिवार्ता गर्ने तय भएपनि अन्तिममा विद्रोही हुथी समूहले सुरक्षाको कारण देखाएका कारण वार्ता स्थगित भएको थियो।
ग्रिफिथले भन्नुभयो “हुथी विद्रोही र साउदी–समर्थित यमन सरकार दुवैले राजनीतिक समाधानप्रति प्रतिवद्धता दोहोर्‍याएकाले वार्ता हुन लागेको हो। दुवै पक्षले वार्तामा उपस्थित हुने बताएका छन्। तैपनि वार्ताको मिति भने तय गरिएको छैन।”

अलि अल–हुथीले राष्ट्रसंघका विशेषदूतसँगको सम्पर्क पश्चात क्षेप्यास्त्र र ड्रोन आक्रमणका साथै अन्य आक्रमणका सम्पूर्ण क्रियाकलाप रोकिएको बताए।

यमन गृहयुद्धका कारण त्यहाँ हजारौं मानिसको मृत्यु भइसकेको छ। सम्पूर्ण आर्थिक तथा मानवीय सहायताका सामग्री यमन भित्रिने लाल सागरको तटीय सहर होडेडामा गत साता पनि भीषण लडाइँ भएको थियो। विद्रोहीले राजधानी साना र होडेडालाई सन् २०१४ मा नियन्त्रण गरेका थिए। अर्को वर्ष सरकारका पक्षबाट साउदी अरेबिया र यसका गठबन्धन मुलुकले सानामा हुथी विरुद्ध भीषण हमला गरेका थिए।

विश्व स्वास्थ्य संगठनका अनुसार, त्यसयता मात्र १० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। तर अधिकारकर्मीहरुले भने गृहयुद्धबाट मारिने व्यक्तिको सङ्ख्या यसको पाँच गुणा बढी दावी गरेका छन्। राष्ट्रसंघले यमनको द्वन्द्वलाई अत्यन्त निकृष्ट रहेको जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ