चितवन । भरतपुर महानगरपालिकामा एक बालिकालाई जबर्जस्ती करणी गरी फरार अभियुक्त भारतको गुणगाउँबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले मंगलबार पत्रकार सम्मेलन गरी घटनाको विवरण सार्वजनिक गरेको हो ।
गत कात्तिक २४ गते बेलुका भरतपुर महानगरपालिकामा बालिकालाई जबर्जस्ती करणी गरी फरार रहेका भरतपुर–१३ का २७ वर्षीय राजन विकलाई लुकीछिपी बसिरहेको अवस्थामा यही मङ्सिर १ गते पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख सुशीलसिंह राठौरले विकले प्रयोग गर्ने मोबाइल ट्रयाक गर्दै उनीसम्म पुग्न प्रहरी सफल भएको बताए। अभियुक्त एक रात बर्दघाट, एक रात बुटवल हुँदै भारतको गुणगाउँ पुगेका थिए ।
प्रहरी निरीक्षक गणेश पौडेल नेतृत्वको टोलीले घटनाको सात दिनपछि विकलाई पक्राउ गरेको हो । निजलाई हिरासतमा राखेर अनुसन्धान गर्न चितवन जिल्ला अदालतले प्रहरीलाई सात दिनको म्याद दिएको छ ।
उनीमाथि लागेको अपराध प्रमाणित भए १४ देखि १६ वर्षसम्म कैद सजाय हुन हुनेछ । रासस