काठमाडौं । वीर अस्पतालका न्यूरो सर्जरी विशेषज्ञ प्राडा ध्रुवराज अधिकारीले राजीनामा दिएपछि सरकारले पनि जवाफ फर्काएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जारी गरेको विज्ञप्तिमा अधिकारीको राजीनामा सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
डा अधिकारीलाई पटकपटक मौखिक जानकारी बारम्बार दिइए पनि त्यसको अवज्ञा गरी राजीनामा बुझाएको विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा चाकडी गरी जागिर खाने अवस्थाको बारेमा कुनै जवाफ दिइएको छैन ।
डा अधिकारीले चाकडी गरी जागिर खान भन्दा राजीनामा दिने भन्दै उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई राजीनामा दिएका थिए । उनले भ्रष्टाचार र घुसखोरी विरुद्ध नयाँ अभियान सुरु गर्दै राजीनामा दिएका हुन् ।
राजीनामा बुझाउने प्राडा अधिकारी वीर अस्पतालमा कार्यरत नवौं तहका चिकित्सक हुन् । साथै, उनी न्यूरो सर्जरी युनिट प्रमुखसमेत हुन् ।
प्राडा अधिकारी स्वास्थ्य मन्त्रालयमा बुझाइएको राजीनामा पत्रमा वीर अस्पतालले बारम्बार पत्र लेख्दा तथा आफूले अथक प्रयास गर्दा पनि खाली भएको पदमा अन्य उम्मेदवार नहुँदा समेत आफूलाई पोष्टिङ नगरिएको उल्लेख गरिएको छ ।
विगत ३० वर्षदेखि स्वास्थ्य सेवामा कार्यरत अधिकारी चार महिना पछि निवृत्त हुँदैछन् । निवृत्त हुन चार महिना बाँकी रहेको अवस्थामा आफूलाई पोखरा सरुवा गरिएको प्राडा अधिकारीको भनाई रहेको छ ।
अधिकारीको यो राजीनामाले स्वास्थ्य मन्त्रालयमा झाँगिएको चाकडी र घूसको विकृत अनुहार उदांगिएको छ ।