प्रहरीले मंगलबार भित्रिएको हतियार खोज्दा खोज्दै बुधबार भयो हुसेनको हत्या
प्रकाशित २०७५ मंसिर ५ बुधबार
385
Shares
इटहरी । सुनसरीको दुहबीमा फिदा हुसेनलाई गोली हान्नु अघि गएराती (मंगलबार) प्रहरीले हतियार भित्रिएको सुचनाको आधारमा सुनसरी र मोरङका बिभिन्न स्थानमा छापा मारेको पाइएको छ ।
हतियार भित्रिएको गोप्य सुचना प्रहरीसँग पनि आइपुगेको आधारमा बिभिन्न व्यक्तिको घरमा छापा मारिएको हो । हतियार भित्रिएको र कुनै घटना हुने आशंका प्रहरीलाई थियो । तर कहाँ ? कुन क्षेत्रमा के घटना हुन्छ भन्ने यकिन भने प्रहरीलाई थिएन ।
आएको गोप्य सुचनाका आधारमा केन्द्रिय अनुसन्धान ब्यूरो र एक नंम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको बिशेष टोली सुनसरी र मोरङमा परिचालित भएको थियो ।
सो क्रममा मोरङको बिराटनगरबाट हतियार बरामद समेत भएको थियो । हतियार सहित केही व्यक्तिलाई पनि पक्राउ गरेको प्रहरी स्रोतको दाबी छ । सोही आधारमा इटहरीस्थित खनारमा गए राती एक घरमा छापा मारिएको थियो ।
खनारमा चौधरी थर गरेका व्यक्तिको घरमा खानतलासी गरी एक जना व्यक्तिलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । हतियारको गोप्य सुचनाकै आधारमा ती व्यक्तिलाई पक्राउ गरिएको हो वा अन्य कुनै कारणले त्यो भने खुलेको छैन ।
बिराटनगरबाट हतियार सहित पक्राउ परेको घटना र हुसेन हत्या प्रकरणमा एउटै योजना थियो या थिएन भन्ने बिषय प्रहरीले अनुसन्धान गरिरहेको छ ।
सम्भावित घटनालाई रोक्न खोज्दा खोज्दै पनि घटना हुन पुगेको देखिएको छ । घटना भएपछि प्रहरीले अपराधी पक्राउ गर्न खोजी अभियान तिव्र पारेको छ । अपराधी खोज्न सादा पोसाकका प्रहरी परिचालन गरिएको सुनसरी प्रहरीले जनाएको छ ।
के कारणले घटना भयो ?
फिदा हुसेनलाई किन गोली हानियो भन्ने यकिन तथ्य बाहिर आउन सकेको छैन । केही समय अघि सुनसरीकै भोक्राहामा मौलाना खुर्सिद आलमको गोली हानि हत्या भएको थियो । त्यो घटनामा कसको संलग्नता थियो भन्ने सम्म बाहिर आउन सकेको छैन । त्यो घटना भएको लामो समय वित्न नपाउँदै मुस्लिम समुदायकै व्यक्ति माथी गोली हान्नुले धेरै आशंका जन्माएको छ ।
फिदा हुसेनलाई गोली हान्नमा आर्थिक विषय हुन सक्ने आशंका पनि गरेका छन् । इटहरीका व्यवसायी खगेन्द्र श्रेष्ठले सञ्चालन गरेको जय बाबा इटा उद्योगमा कार्यरत रहेका थिए, फिदा । पछिल्लो समय फिदाले नै इटा उद्योग हेर्दै आएका थिए । फिदाको हत्याले आफुलाई ठुलो नोक्सान भएको व्यवसायी श्रेष्ठले बताए । यो क्षति कुनै हालतमा पूर्ति नहुने उनको भनाई छ ।
फिदालाई गोली हान्नुमा उद्योगमा चन्दा मागेको विषय हुन सक्ने सम्भावना पनि उत्तिकै रहेको देखिएको छ । आर्थिक विषय पनि हुन सक्ने व्यवसायी श्रेष्ठको पनि आशंका छ । तर यकिन भने उनी पनि छैनन् ।
हत्यामा आशंका गर्ने ठाउँ अन्य पनि छन् । मुस्लिम समुदायको बाहुल्यता रहेको स्थान, अर्को तर्फ फिदाका दाजु मेहदी हुसेन पनि मुस्लिम नेता हुन । जो नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति र दुहबी ९ का वडाध्यक्ष पनि । मुस्लिम समुदायका व्यक्ति माथि एक पछि अर्को गदै गोली हानी हत्या हुनुमा बाहिरी पक्षको पनि हात त छैन ?
भन्ने आशंका गर्ने ठाउँ प्रशस्तै छ । नेपालमा मुस्लिम समुदाय जहिल्यै पनि उच्च जोखिममा हुने गरेका छन् । नेपाल भारत दुई देशको खुल्ला सिमाका कारण पनि अपराधिक गतिविधि बढेको देखिएको छ ।