इलाम। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले समृद्ध मुलुक बनाउने अभियानमा सरकार र प्रमुख प्रतिपक्षी दल कांग्रेस दुवै असफल भएको वताएका छन। नेपाल प्रेस युनियन इलाम शाखाले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा सिटौलाले सरकारको नौं महिने कार्यकाल असफल भएको दाबी गरे।
‘सरकार कम्युनिष्ट पार्टीलाई ठूलो बनाउने दम्भमा लाग्यो, प्रतिपक्ष पनि सरकारलाई ठिक ठाँउमा राख्न सक्ने गरी भूमिका निर्वाह गर्न सकेन, देश बनाउने अभियानमा दुबै सफल भएनन,’ सिटौलाले भने। कांग्रेस नेतृत्वसँग असतुष्ट रहेका उनले कार्यकर्ता परिचालन र नेतृत्वको शसक्त भूमिका गर्न नसक्दा आफ्नै दल कांग्रेस कमजोर भएको जनाए। सिटौलाले कम्युनिष्टहरु मुलुकमा कलिलो अवस्थामा रहेको संघियतालाई कमजोर बनाउन तर्फ लागेको समेत आरोप लगाए।
संविधान सभाको पहिलो निर्वाचन हार्दा तत्कालिन सभापती गिरिजाप्रसाद कोइरालाले नैतिक जिम्मेवारी लिदै नयाँ ढंगले पार्टी परिचालन गर्दा दोस्रो निर्वाचनमा जित हासिल गरेको भन्दै उनले हारलाई पाठका रुपमा लिइनु पर्ने जनाए।
यस्तै पार्टीलाई बलियो बनाउन वडा तह देखि केन्द्रीय तहसम्मको नेतृत्वलाई पार्टीको उच्च नेतृत्वले सही रुपमा समान व्यवहारबाट परिचालन गर्न सक्नु पर्ने जनाए। बिहिबार इलाम आइपुगेका सिटौला सुक्रबार विभिन्न कार्यक्रममा समेत सहभागी हुने छन।