arrow

पाकिस्तानका छुट्टाछुट्टै दुई आक्रमणमा परी ४३ को मृत्यु

logo
एएफपी/सिन्ह्वा
प्रकाशित २०७५ मंसिर ७ शुक्रबार
pakistan1.jpg

काठमाडाैं । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा तरकारी राखेको कार्टुनमा लुकाइएको बम विस्फोटन हुँदा शुक्रबार कम्तीमा ३१ जनाको मृत्यु भएको छ । 

मानिसको अत्यधिक भिडभाड भएका बेला भएको घटनामा परी अरु ५० भन्दा बढी घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन् । 

हरेक शुक्रबार साप्ताहिक बजार लाग्ने ठाउँ कलायामा तरकारीसँगै बेरेर राखिएको बम विस्फोटन भएको प्रत्यक्षदर्शीहरूले जनाएका छन् । 

घटना भएको क्षेत्रमा सिया मुसलमान समुदायको बढी प्रभाव रहेको स्थानीय वरिष्ठ प्रहरी खालिद इक्वालले बताए । 

“हामीलाई प्राप्त प्रारम्भिक विवरण अनुसार तरकारीको कार्टुनमा लुकाएर राखिएको विस्फोटक पदार्थ अकस्मात पड्किएको थियो,” उनले भने। 

अर्का एक जना वरिष्ठ अधिकारी अमिन उल्लाहले कम्तीमा ३१ जनाको मृत्यु भएको र ती मध्ये २२ जना सिया मुसलमान समुदायका भएको जानकारी दिए । 

घटनामा परी घाइते भएका ५० जना मध्ये १७ जनाको अवस्था गम्भीर रहेको पनि अधिकारीहरूले बताएका छन् । 

पाकिस्तानी मस्जिदमा आक्रमण, १२ को मृत्यु, दर्जनौं घाइते

पाकिस्तानको एउटा मस्जिदमा भएको आक्रमणमा परी १२ जनाको मृत्यु भएको छ । पूर्वी खोस्ट प्रान्तमा शुक्रबार भएको सो घटनामा करिब तीन दर्जन व्यक्ति घाइते भएको प्रान्तीय गभर्नर हाकाम खान हाबीबीले जानकारी दिए । 

“सैनिकहरु रहेको मस्जिदमा आक्रमण भएको हो, जहाँ ठूलो संख्यामा पुजाका लागि धर्माबलम्बीहरु आएका थिए,” उनले भने। 
उनले थपे, “घटनामा परी १२ जनाको मृत्यु भएको छ भने अरु ३३ जना घाइते भएका हुन् ।” 

सरकारी अधिकारीहरुले घटनाका बारेमा थप बताउन सकेका छैनन् । कतिपयले घटनाका बारेमा बुझ्दा आत्मघाती आक्रमण भएको विश्वास गरेका छन् । 

तालिबान लडाकूहरुले घटना गराएको सरकारी अधिकारीहरुको आरोप रहेपनि तालिबान लडाकूहरुको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन । 

स्थानीयले घटनामा परी मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने अनुमान गरेका छन् । प्रान्तीय स्वास्थ्य विभागका प्रमुख गुल अहमद शाहले ४० जनालाई अस्पतालमा उपचार गराइएको पुष्टि गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ