विकास निर्माणलाई अभियानकै रूपमा लैजानुपर्छ : तिमिल्सिना
प्रकाशित २०७५ मंसिर ८ शनिबार
290
Shares
पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अहिलेको सरकारले मुलुकको विकासका लागि अभियाननै सञ्चालन गर्नुपर्ने बताएका छन्।
शनिबार बिहान पर्वतको महाशीला गाउँपालिकामा स्थानीय जनप्रतिनिधि र राजनीतिक दलका नेतासँगको छलफलका क्रममा सरकार गठन भएको नौ महीनाकै अवधिमा जनताले विकासको ठूलो अपेक्षा राखेको बताउँदै दिगो विकासका लागि तीनवटै तहका सरकारले अभियानकै रूपमा भौतिक पूर्वाधार, सडक, विद्युत्, खानेपानी, सिँचाइजस्ता कुराको विकासलाई लैजानुपर्ने सुझाव दिए ।
उनले यो कार्यकाललाई ऐतिहासिक र मुलुक निर्माणका लागि नमूना बनाउन सरकारले महत्वपूर्ण योजना अघि सारेको बताउँदै अब नेपाली नागरिक पछुताउनुपर्ने अवस्था नआउने विश्वास व्यक्त गरे ।
अध्यक्ष तिमिल्सिनाले पर्वतका गाउँगाउँमा कच्ची सडक पुगेको बताउँदै पाँच वर्षभित्रमा सबै सडक कालोपत्रे गर्नका लागि तीनै तहका सरकारसँग समन्वय गरेर काम गर्नुपर्ने बताए। शुक्रवार महाशीला गाउँपालिकामा आएका अध्यक्ष तिमिल्सिना विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् । रासस