'राष्ट्रिय स्वाभिमान बेचेर सरकार क्रिश्चियन धर्मको प्रचारमा'
प्रकाशित २०७५ मंसिर ८ शनिबार
556
Shares
काठमाडौं । नेपाली काँग्रेसले निर्मला पन्तको बलात्कार पछि हत्या भएको १ सय २५ दिनपुग्नै लाग्दा पनि हत्यारा पत्ता लगाउन नसक्ने सरकार क्रिश्चियन धर्मको प्रचारमा लागेको गम्भीर आरोप लगाएको छ । शनिबार राजधानीमा संक्षिप्त पत्रकार सम्मेलन गर्दै नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्र्माले हत्या र बलात्कारको घटनाहरुमा उदासिन बनेको सरकारले राष्ट्रिय स्वाभिमान बेचेर क्रिश्चियन धर्मको प्रचारमा लागेको आरोप लगाएका छन् ।
एउटी छोरीको बलात्कार पछि हत्या भएको विषयमा न्याय माग्दा माग्दै मानसिक सन्तुलन गुमाएका कञ्चनपुरकी निर्मला पन्तका बुबालाई स्मरण गर्दै प्रवक्ता शर्माले जनताको न्याय मारेर कुनैपनि आईएनजीओको सहायक बनेर सरकारले क्रिश्चियन धर्मको प्रचार गरेको आरोप लगाएका हुन् । उनले नेपालको निशानी छाप र व्यवस्थापिका संसद्को लोगोको दुरुपयोग गरी सरकारले राष्ट्रिय स्वाभिमानमाथि आँच पुर्याएको आरोप समेत लगाएका छन् । उनले कुनैपनि कार्यक्रममा सहआयोजक हुनुले नेपाल सरकार आयोजक आईएनजीओ भन्दा पनि तल्लो स्तरको भन्ने सन्देश गएको बताए ।
प्रवक्ता शर्माले नेपालको संविधानले धर्म निरपेक्षतालाई अंगिकार गरेको भन्दै एकातर्फ धर्मनिरपेक्षतालाई अंगिकार गर्ने र अर्काे तर्फ कुनै निश्चित धर्मको प्रचारलाई सहयोग पुग्नेगरी सरकार नै सहआयोजक बस्छ भने यो संविधानको बर्खिलाप हो कि होईन भन्दै सरकारसँग प्रतिप्रश्न गरेका छन् । उनले ४ दिन अघि मात्रै सुनसरीमा फिदा हुसेन नाम गरेका एक व्यवसायीको हत्या भएको तर्फ ईंकित गर्दै यसमा पनि सरकारले कोही हत्यारा पत्ता लगाउन नसकेको आरोप लगाए । त्यस्तै, कपिलबस्तुमा दीपेन्द्र चौधरी नाम गरेको प्रदेश सभा सांसद्का उम्मेदवारको आज मात्रै हत्या भएको भन्दै सरकार कपिलबस्तुमा पनि नभेटिएको बताए । उनले आफूले केही दिन अघि सरकार कहाँ छ ? भनेर प्रश्न गरेको स्मरण गर्दै सरकार क्रिश्चियनहरुको धर्म प्रचारमा भेटिएको बताए ।
यो विषय गम्भीर विषय भएको भन्दै यो विषयमा काँग्रेसले गम्भीर आपत्ति भएको जनाएका छन् । यो प्रश्न नेपाल देशको विषय भन्दै यो प्रतिपक्ष र सत्ता पक्षको विषय नभएको बताएका छन् । अन्य देशहरुमा सरकारको मातहतमा एनजीओ आईएनजीओ रहने भएको भएपनि नेपालमा भने एनजीओ आईएनजीओको मातहतमा सरकार रहेको उनले आरोप लगाए । उनले दुई तिहाई सरकार यति चाँडैं यस्तो दुब्लो भएको भन्दै यो सबै नेपालीले प्रश्न उठाउने पनि बताए ।