arrow

बस नहरमा खोस्यो : पौडी खेलेर बाचे चालक, २८ को मृत्यु

logo
प्रकाशित २०७५ मंसिर ८ शनिबार
Karnataka-Mandya.jpg

नयाँ दिल्ली, भारत । भारतको कर्नाटक राज्यमा शनिबार भएको बस दुर्घटनामा मृत्यु हुने व्यक्तिको सङ्ख्या २८ पुगेको भारतीय प्रहरीले जनाएको छ । मृतकमध्ये केही छात्रछात्रा पनि रहेका छन् ।

दक्षिणी राज्य कर्नाटकको मन्द्या जिल्लामा एउटा सार्बजनिक यात्रुबाहक बस सडकबाट चिप्लिएर नहरको तालमा खस्दा बसमा यात्रारत २८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । “मृतकमध्ये केही विद्यालयबाट घर फर्किरहेका बालबालिकासमेत रहेका छन्,” एक प्रहरी अधिकारीले एएफपीलाई बताए ।

प्रहरीले बसमा कति जना यात्रा गरिरहेका थिए भन्ने बिषयमा केही बताएको छैन । तर दुर्घटना अत्यधिक तीब्र गतिका कारण गति नियन्त्रण हुन नसक्दा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा हुन आएको छ ।

स्थानीय सञ्चारमाध्यमले भने बसमा ३५ जना यात्रा गरिरहेका बताएका छन् । घटनास्थलबाट विभिन्न टेलिभिजनले खिचेको दृष्यचित्रमा स्थानीयबासीले पानीमा डुबेको बसबाट मृत शरीर निकालिरहेका देखिएको छ ।  घटना भएको केही समयपछि भारतीय उद्धारकर्मी तथा तालिमप्राप्त गोताखोर पनि उद्धारमा पुगेका थिए ।

यसैबीच कर्नाटकका मुख्यमन्त्री एच. डी कमास्वामीले दुर्घटनामा परेका पीडितका परिवारलाई राहत सहयोग गर्ने बताएका छन् । भारतमा प्रत्येक बर्ष सडक दुर्घटनामा परी एक लाख ५० हजार व्यक्तिले ज्यान गुमाउने गरेका छन् । भारतमा हुने सडक दुर्घटना प्रायः कमजोर सडक संरचना, पूराना सवारी साधन र चालकको लापर्बाहीका कारण हुनेगरेको छ ।

सेप्टेम्बरमा कर्नाटकको छिमेकी तेलङ्गना राज्यमा भएको बस दुर्घटनामा पनि ५० जनाको ज्यान गुमेको थियो भने गत बिहीबार मध्यप्रदेशमा यात्रुवाहक बस विद्यार्थी बोकेको भ्यानसँग ठक्कर खाँदा छ जना विद्यार्थीको मृत्यु भएको थियो । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ