arrow

अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसः नीतिमा शून्य सहनशीलता व्यवहारमा विजोग 

प्रधानमन्त्री ओली भन्छन् –‘विभेदको पूर्णरुपमा अन्त्य गर्न सरकार प्रतिबद्ध छ’, राष्ट्रपति भन्छिन् –‘आर्थिकरुपले आत्मनिर्भर र स्वावलम्बी बनाउनु पर्छ’

logo
प्रकाशित २०७५ मंसिर ९ आइतबार
hinsa-new.jpg.jpeg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आइतबार जारी गरेको शुभकामना सन्देशमा नेपालले महिला हकअधिकारको संरक्षणमा ठूलो उपलब्धि हासिल गरेको उल्लेख गर्दै सरकारले महिलाविरुद्ध हुने सबै किसिमका हिंसाप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताए ।

“लैङ्गिक हिंसाको अपराधमा संलग्न हुने जोसुकैलाई कानूनबमोजिम कडा सजाय दिन सरकार दृढ छ”, उनले भने, “मुलुकी देवानी संहिता र मुलुकी अपराध संहिताको प्रभावकारी कार्यान्वयबाट सबै प्रकारका हिंसा अन्त्यका लागि थप बल प्रदान गर्ने मैले विश्वास लिएको छु ।” 

प्रधानमन्त्री ओलीले संविधानले सन्देशमार्फत सबै किसिमका लैङ्गिक विभेदको अन्त्य गर्ने सङ्कल्प गरेको उल्लेख गर्दै प्रत्येक नेपाली महिलालाई विनालैङ्गिक भेदभाव समानवंशीय हक, सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक, राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हकलगायत मौलिक हक प्रत्याभूत गरेको प्रष्ट पारे ।

“सङ्घ, प्रदेश र स्थानीय तहका निर्वाचनबाट विभिन्न तहको नेतृत्वमा निर्वाचित भएकामध्ये ४१ प्रतिशत महिला नै छन, यो तथ्याङ्क दक्षिण एशिया र विश्वकै लागिसमेत प्रेरणादायी छ”, उनले भने । 

प्रधानमन्त्री ओलीले मानव अधिकारको विश्वव्यापी घोषणा १९४८, राजनीतिक तथा नागरिक एवं आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अनुबन्ध १९९६ र महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य गर्ने महासन्धि १९७९ को नेपाल पक्ष राष्ट्र भएकाले ती महासन्धिको सरकारले पूर्ण पालना गर्ने प्रतिबद्धता व्यक्त गरे ।

ती महासन्धिको पक्ष राष्ट्रका रुपमा दायित्व वोध गर्दै नेपाल सरकार महिला केन्द्रित नीति, कानून, योजना र संरचना तथा कार्यक्रम निर्माण गरी उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग गरेर महिलाको जीवनस्तर माथि उठाई समृद्ध र सुखी समाज निर्माण गर्न प्रयास गरिरहेको उनले बताए ।

प्रधानमन्त्री ओलीले भने, “सरकार महिलाको हकअधिकार सुनिश्चित गर्दै महिलाविरुद्ध हुने कुनै पनि प्रकारका हिंसा तथा विभेदको पूर्णरुपमा अन्त्य गर्न प्रतिबद्ध छ ।” 

व्यक्ति, परिवार, समाज र सिङ्गो राष्ट्र लैङ्गिक हिंसाको नकारात्मक प्रभावबाट ग्रसित हुने भएकाले त्यसका कारकको निर्मूल गर्ने कुरामा सरकार गम्भीर रहेको सन्देशमा उनले भने । 

प्रधानमन्त्री ओलीले हिंसाविरुद्ध सरकारको प्रयास हुँदाहुँदै पनि कतिपय अवस्थामा गलत अभ्यास र दुःखद् घटनाका कारण देशको छवि अन्तर्राष्ट्रियरुपमा नकारात्मक हुन नपाओस् भनेर सबै सजग हुनुपर्ने बताए ।

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने सबै खालका हिंसा अन्त्यका लागि शिक्षा र चेतना फैलाउनु तथा आर्थिकरुपले आत्मनिर्भर र स्वावलम्बी बनाउनु आजको आवश्यकता भएको बताएकी छिन् । 

महिलाविरुद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका उपलक्ष्यमा आइतबार जारी गरेको शुभकामना सन्देशमा उनले बोक्सीको आरोप, छाउपडी, दाइँजो जस्ता कुप्रथालाई कानूनले निषेध गरिसकेको अवस्थामा समेत समाजमा अहिले पनि रहिरहेका अन्धविश्वास, कूरीति, कुसंस्कारले गर्दा नेपाली महिला हिंसा, विभेद र अपमानका पीडा खप्न अझै बाध्य रहेको बताइन् । 

राष्ट्रिपति भण्डारीले महिलाविरुद्ध हुने हिंसाविरूद्धको अन्तर्राष्ट्रिय दिवसले समाज, देश र अन्तर्राष्ट्रियस्तरमा महिला हिंसालाई निषेध र निरुत्साहित गर्ने कार्यमा लागेका सबैलाई सफलता मिलोस् भन्ने कामना गरेकी छिन् । 

‘लैङ्गिक हिंसा र दुव्र्यवहार छैन हामीलाई स्वीकार’भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको उपलक्ष्यमा उनले सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइको सुख, समृद्धि र सुस्वास्थ्यको कामना पनि गरेकी छिन् । 

संयुक्त राष्ट्रसङ्घको महासभाले प्रत्येक वर्षको नोभेम्बर २५ लाई महिलाविरुद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णयबमोजिम नेपालमा पनि यो दिवस मनाउने गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ