रुसलाई मँहगो पर्दै युक्रेनको जहाज, नयाँ प्रतिबन्धको तयारीमा युरोप
हाम्रा कुरा
प्रकाशित २०७५ मंसिर ११ मंगलबार
734
Shares
काठमाडौं। युक्रेनको पानीजहाज कब्जा गरेको भन्दै रुसमाथि नयाँ प्रतिबन्धको लागि युरोपियन नेताहरुले माग गरेका छन्। सन् २०१४ मा युक्रेनको क्रिमियामा रुसले अधिकार जमाएसँगै उसलाई दबाब दिन अमेरिका र ईयूले लगाएको प्रतिबन्ध जारी रहेकोमा रुसलाई नयाँ प्रतिबन्धको माग गरिएको हो।
आइतबार रुसले विवादित क्रिमियानजिकै युक्रेनका तीन जहाज कब्जामा लिएको थियो। रुस र युक्रेनले यो घटनामा एकअर्कालाई आरोप लगाउँदै आएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमवार जर्मन चान्सलर एन्जेल मर्केललाई फोन गरी घटनाको समग्र विवरण दिने र यसमा रुसको कुनै गल्ती नरहेको बताएका थिए।
यद्यपि मर्केलका पार्टीका नेताले रुसले निकै कडा प्रतिबन्धको सामना गर्नुपर्ने अवस्था आउनसक्ने बताएका छन्। त्यसका साथै जर्मनी, अष्ट्रिया, पोल्याण्ड र इस्टोनियाका नेताहरुले नयाँ प्रतिबन्ध लाग्नसक्ने चेतावनी दिएका छन्। पश्चिमा मुलुकहरुको नयाँ प्रतिबन्धको आशंकासँगै मंगलवार रुसी मुद्रा रुबेलको भाउ पनि घटेको छ।
युक्रेनले सोमवार आफ्ना जहाजहरु रुसले आक्रमण गरी कब्जामा लिएको भन्दै रुसमाथि प्रतिबन्धको लागि पश्चिमा मुलुकहरुसँग आग्रह गरेको थियो। दुवै पक्षले एकअर्कालाई दोष लगाइरहेको भए पनि युरोपियन मुलुकहरु भने रुसप्रति खनिएका छन्।
रुसले यसअघि पनि युक्रेनलाई विभिन्न मामिलामा थिचोमिचो गर्दै आइरहेको कारण यो मामिलामा पनि युरोप युक्रेनको पक्षमा देखिएको हो।