arrow

सुध्रेन सरकार ! सगौरब ६७ लाख खर्च भएको जिकिर 

logo
प्रकाशित २०७५ मंसिर १४ शुक्रबार
gokul-baskota-sanchar-mantri.jpg

काठमाडौं । सरकारले राजधानीका पोलपोलमा टाँगिएका केपी शर्मा ओलीका तस्वीरसंगै विभिन्न मिडियामा दिएका विज्ञापन, पोष्टर र होडिङ बोर्डमा ६७ लाख रुपैयाँ खर्च भएको सगौरब जानकारी गराएको छ । 

योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यक्रम शुभारम्भको प्रचार–प्रसार र उद्घाटन व्यवस्थापनका लागि ६७ लाख २३ हजार रुपैयाँ खर्च गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी गराएका हुन् । 

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बाँस्कोटाले खर्चको जानकारी गराएका हुन् ।

उनले पत्रकार सम्मेलनमा प्रचार–प्रसार र उद्घाटन कार्यक्रमको व्यवस्थापनमा लागेको खर्च अर्थ मन्त्रालयले सामाजिक सुरक्षा कोषलाई उपलब्ध गराउने पनि सुनाए । 

उनले करोडौं रुपैयाँ खर्च गरेको भन्दै बाहिर अफवाहका रूपमा आएजस्तो प्रचार–प्रसारमा खर्च नभएको जिकिरसमेत गरेका छन् । 

मन्त्री बाँस्कोटाले सत्यतथ्य लेख्न फेरि पनि पत्रकारलाई पाठ सिकाएका छन् । 

१० वर्षअघि सामाजिक सुरक्षा कोषका नाममा आम्दानीको एक प्रतिशत कर उठाउन थालिएको थियो । अहिले त्यो रकम झण्डै २० अर्ब जम्मा भएको छ । 

यो सरकारले अनावश्यक तडकभडक गर्दै प्रधानमन्त्री ओलीको तस्वीरसहित पोलपोलमा टाँसेका पम्प्लेटले गरिबलाई राहत पुग्दैन । काठमाडौं उपत्यकामात्र हैन नेपाल । 

सरकारले कामै गरेन भनी जताततै चर्को आलोचना भइरहँदा ओलीले आफू यहाँ छु भन्ने देखाउनका लागि अनावश्यक प्रचार गरेको आरोपको समेत सामना गर्नुपरेको छ । 

प्रधानमन्त्री ओली बडादशैंको धपेडीले एक हप्ता अस्पतालमै रहनु परेको र त्यसपछि तिहारपछिसम्मै आराम गरेर प्रधानमन्त्री निवास बालुवाटारमा बसेपछि कुनै तडकभडक र अनावश्यक भाषणमा लाग्ने छैनन् भन्ने अनुमान विपरीत गत मंगलबार सामाजिक सुरक्षा योजनाको शुभारम्भ कार्यक्रममा प्रतिपक्षीलाई सबक र आफू नेतृत्वको सरकारको कामको बेलुन भर्नका लागि लामो समय खर्चेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ