क्रिश्चियन धर्म सम्मेलन प्रति राप्रपा (प्रजातान्त्रिक) को आपत्ति
प्रकाशित २०७५ मंसिर १४ शुक्रबार
634
Shares
काठमाडौं । राप्रपा (प्रजातान्त्रिक) ले एशिया प्यासिफिक समिटको आवरणमा काठमाडौंमा हुंदै रहेको क्रिश्चियन धर्म सम्मेलन प्रति गम्भीर आपत्ति जनाएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै राप्रपा (प्रजातान्त्रिक) ले सम्मेलनका देखाउने एजेण्डा जलवायु परिवर्तन लगायतका विषय रहेको प्रचार गरिएको भए पनि नेपालमा क्रिश्चियन धर्मको विस्तार एवं सम्वद्र्धन गर्ने रहेको तथ्य दिनको घाम जत्ति कै प्रष्ट भएको उल्लेख गरेको छ ।
राप्रपा (प्रजातान्त्रिक) ले दश वर्षे सशस्त्र द्वन्द्वको घाउका खाटा बसिनसकेको अवस्थामा वर्तमान कम्युनिष्ट सरकार देशलाई पुनः अर्को दीर्घकालीन धार्मिक एवं साँस्कृतिक द्वन्द्वको कहाली लाग्दो सुरुङ तर्फ धकेल्न उद्यत् रहेको र एशिया प्यासिफिक समिट यसैको सजीव उदाहरण रहेको जनाएको छ ।
अध्यक्ष पशुपति शम्शेर ज.ब.रा. द्वारा जारी विज्ञप्तिमा भनिएको छ 'दशदीयौं देखि धार्मिक र साँस्कृतिक सहिष्णुतालाई राष्ट्रिय चरित्र तथा संस्कृतिको रुपमा अवलम्बन गर्दै रहेको तथा सनातन हिन्दू राष्ट्र रही आएको र हिन्दुत्वको छहारीमा विविध धर्म र संस्कृतिले समान तथा सम्मानजनक संरक्षण एवं स्थान पाई आएको नेपाललाई जवर्जस्ती धार्मिक र साँस्कृतिक द्वन्द्वको चक्रव्यूहमा फँसाउने वाह्य शक्तिहरुको दीर्घकालीन रणनीति कार्यान्वयनमा वर्तमान सरकार संलग्न रहेको देखिनु घोर चिन्ता र निन्दाको विषय हो ।'
एउटा खास धर्म र सम्प्रदायको मतियार बनेर वर्तमान नेकपा सरकारले राज्यको कुनै जात, धर्म वा सम्प्रदाय हुंदैन भन्ने धर्म निरपेक्षताको सिद्धान्तको समेत खिल्लि उडाएको पार्टीले उल्लेख गर्दै 'आफूलाई साम्यवादी भनेर नेपालमा समाजवाद कायम गर्छौं भन्ने वर्तमान नेकपा सरकारले आफ्ना घोषित सिद्धान्त र विचार विरोधी काम कारवाही गर्नु घोर विडम्वना हो ' भनेको छ ।
विज्ञप्तिमा 'राप्रपा (प्रजातान्त्रिक) नेपाललाई धार्मिक र सांस्कृतिक उपनिवेश बनाउने वर्तमान सरकारको नियत, व्यवहार र रवैयाको घोर भत्र्सना गर्दछ र सरकारका द्वन्द्वाभिमुखी आचारण र व्यवहारको विरोध गर्दै सनातन सर्वधर्म हिन्दूत्वको झण्डा बोकेर धर्म परिवर्तनको विरोधमा खबरदारी गर्न आम स्वाभिमानी देशभक्त नेपालीलाई आब्हान गर्दछ ' भनिएको छ ।