९५ हजारमा दशगजा भारतलाई बेचेको भन्दै जिल्ला प्रशासनमा उजुरी
प्रकाशित २०७५ मंसिर १५ शनिबार
611
Shares
काठमाडौं । नेपाल भारत सीमामा पर्ने दशगजा क्षेत्रलार्इ ९५ हजार रुपैयाँमा भारतलाई बेचेको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटमा उजुरी परेको छ । गत मंसिर १२ गते परोहा नगरपालिका वडा नं ९ निवासी ताराचन्द्र प्रसाद सिन्हाले जिल्ला प्रशासन कार्यालय रौतहटमा उजुरी दिएका हुन् ।
नेपाल भारत सीमामा रहेको दशगजा क्षेत्रमा माछा पालनको लागि भारतीय नागरिकलाई २०७५ सालदेखि २०७९ सालसम्मको लागि ४ वर्षको ९५ हजार रुपैयाँ भाडामा दिएको आरोप सिन्हाले लगाएका छन् । परोहा नगरपालिका ९ बस्ने सुखाडी राउत, सोही ठाउँ स्थायी घर भएका राजधारी प्रसाद शाह, सोही स्थान बस्ने कमल राउत कुर्मी र सत्य नारायण राउत कुर्मीले सो जग्गा बेचेको आरोप लगाईएको छ । उनीहरुले अग्रीम १५ हजार रुपैयाँ लिएको आरोप समेत लगाएका छन् ।
जिल्ला प्रशासन कार्यालय रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशीले दशगजा क्षेत्रको जग्गा विक्री वितरण नहुने भन्दै यसरी दशगजामा कसैले भौतिक संरचना तयार पारेको भेटिए प्रहरीले त्यो संरचना भत्काउन सक्ने जानकारी दिए । यस विषयमा पनि उजुरीमाथि आवश्यक छानविन गरी कारबाही प्रक्रिया अघि बढ्ने जोशीले प्रतिक्रिया दिए ।