युवा नेताहरुको माग - परिवर्तित अवस्थामा पार्टीले विधानमा व्यापक संशोधन गर्नुपर्छ
प्रकाशित २०७५ मंसिर १८ मंगलबार
529
Shares
काठमाडौँ । प्रस्तावित विधान संशोधनका विषयमा केन्द्रित नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा १० जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखे।
पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको बैठकमा केन्द्रीय सदस्य एनपी साउद, धनराज गुरुङ, गगनकुमार थापा, गोविन्द भट्टराई, गुरुराज घिमिरे, लक्ष्मी परियार, आनन्द ढुङ्गना, चीनकाजी श्रेष्ठ तथा आमन्त्रित सदस्य नरेन्द्रकुमार चौधरी र रमा कोइरालाले आ–आफ्नो धारणा राखेका छन् ।
कांग्रेसले पार्टीको विधानलाई सङ्घीय संरचनाअनुसार परिमार्जित गर्न विधान संशोधनको प्रस्ताव तयार गरेको छ । पार्टीको विधान संशोधन मस्यौदा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तावित विधानको मस्यौदा यही मङ्सिर ९ गतेको केन्द्रीय समिति बैठकमा पेश गरेका थिए ।
मंगलबार आफ्नो धारणा राख्ने युवा केन्द्रीय सदस्यले परिवर्तित अवस्थामा पार्टीले आफ्नो विधानमा व्यापक संशोधन गर्नुपर्नेमा जोड दिए । मङ्सिर १३ गतेदेखि जारी पार्टीको केन्द्रीय समिति बैठकमा उक्त मस्यौदामाथि छलफल जारी छ । अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने कृष्णप्रसाद पौडेलले जानकारी दिए ।