सुर्खेत घटनामा पक्राउ विद्यार्थी नेतालाई छाड्न तीन विद्यार्थी सङ्गठनको माग
प्रकाशित २०७५ मंसिर २५ मंगलबार
396
Shares
काठमाडौँ । तीन विद्यार्थी सङ्गठनले सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालयमा भएको घटनामा पक्राउ परेका विद्यार्थीलाई रिहाइ गर्न माग गरेका छन् ।
मंगलबार अनेरास्ववियुका कार्यवाहक अध्यक्ष रश्मी आचार्य, नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महर र अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै विश्वविद्यालयको समस्याका सन्दर्भमा आन्दोलनरत विद्यार्थी सङ्गठनका नेतालाई तत्काल रिहाइ गर्न माग गरेका हुन् ।
विज्ञप्तिमा शान्तिपूर्ण रुपमा आन्दोलनरत विद्यार्थीलाई वार्तामा बोलाई समस्या समाधान गर्नुको सट्टा उल्टै विद्यार्थी नेताहरूलाई शृङ्खलाबद्धरुपमा धरपकड गर्ने विश्वविद्यालय प्रशासनको अलोकतान्त्रिक र गैरजिम्मेवार रहेको बताएका छन् । ‘समस्या समाधान हुनुको सट्टा विद्यार्थीलाई पक्राउ गरेर झनै चर्काइदिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी विश्वविद्यालय प्रशासन र प्रहरी प्रशासनलाई गिरफ्तार गरिएका सबै साथीहरूलाई अविलम्ब रिहाइ गरी वार्तामार्फत समस्याको निकास खोज्न माग गर्दछौ ।’
प्रशासनले गत सोमबार नेविसङ्घका केन्द्रीय सदस्य विवेक आचार्यलाई नेपालगञ्जबाट, क्रान्तिकारीका केन्द्रीय सदस्य देवीचन्द्र उपाध्यायलाई काठमाडौँबाट र विश्वविद्यालयका स्ववियु सचिव भरत शाहीलाई सुर्खेतबाट तथा आज विश्वविद्यालयका स्ववियु सभापति झक्कबहादुर शाही, कोषाध्यक्ष सुशील भट्ट र नेविसङ्घ नेता मोहन रानालाई पक्राउ गरेको विज्ञप्तिमा जनाइएको छ । रासस